म्युजिक भिडिओ मोडलिङमा आशालाग्दी प्रतिभा : अनुजा सिंह

-तुलसी गिरी ‘भावुक’

म्युजिक भिडिओ मोडलिङको क्षेत्रमा स्थापित हुने उद्देश्यका साथ सङ्घर्ष गरिरहेका तमाम मोडल कलाकारहरुको भीडमा आशालाग्दो प्रतिभाको रुपमा चिनिएकी एक मोडल हुन् अनुजा सिंह l औपचारिक रुपमा यात्रा सुरु गरेको दुई वर्षको अन्तरालमै उनले लगभग ३ दर्जन म्युजिक भिडिओमा प्रमुख कलाकारको रुपमा अभिनय गरिसकेकी छिन् भने केही सिरियल, वृत्तचित्र र विज्ञापनमा समेत उनलाई देख्न सकिन्छ l

काठमाण्डौको ताहाचल निवासी पिता रविन्द्र सिंह र माता सुनिता सिंहको परिवारमा १ छोरा र १ छोरी पछि कनिष्ठ सन्तानको रुपमा जन्मिएकी अनुजा बाल उमेरमा जिज्ञाशु र चञ्चले स्वभावकी थिईन् l वर्नहार्ट हाइयर सेकेण्डरी स्कूल, बल्खूबाट एसएलसी उत्तिर्ण गरेकी उनले एभरेष्ट इन्टरनेशनल कलेज, सोल्टीमोडबाट स्नातक पूरा गरेकी हुन् भने यतिबेला स्नातकोत्तरको तयारीमा  लागिरहेकी छिन् l

पहिलादेखि नै कलाकारिताको सपना नभए पनि कुर्ता, लेङ्गा लगायतका महिला पहिरन सम्बन्धी ब्यापार गर्ने एउटा कम्पनीको बिज्ञापनको लागि फोटो शुट गरेपछि बिस्तारै यस क्षेत्रप्रति आकर्षण बढेको उनको बुझाई छ l ‘एउटा इन्डियन कम्पनीले महिला पहिरनको एडको लागि मोडल चाहियो भनेर विज्ञापन गरेको थियो l एकजना दिदीले अप्लाई गर्ने सल्लाह दिनुभयो l ठिकै छ गरिराखौं न त भनेर फोटो पठाएकी थिएँ, पछि फोन आयो र फोटो शुट पनि भयो’ उनी त्यो अनपेक्षित खुशीको घटना सुनाउँछिन् l

अनुजाले पहिलोपटक सन् २०२२ को फेब्रुअरीमा एलिना चौहानको स्वरमा रहेको आधुनिक गीत ‘तिमी फूल हौ भने’ मा मोडलिङ गरेकी थिईन् l नारायण मगरको निर्देशनमा निर्माण भएको सो भिडिओमा बिराज कार्कीले उनलाई पुरुष मोडलको रुपमा साथ दिएका थिए l ‘तिमी फूल हौ’ पछि उनले मलाई बाँच्न सिकायौ, जीवन साथी, जे देखे नि राम्रै लाग्छ, नजिक आए हुन्छ तिमी, हाम्रो कथा, सतायो तिम्रो यादले, काठको बाकस, थोपा, धोका, निष्ठूरी, दिलराजा दिलरानी लगायत लगभग ३ दर्जन म्युजिक भिडिओमा अभिनय गरिसकेकी छिन् l यी मध्ये ‘मलाई बाँच्न सिकायौ’ दर्शक/श्रोताले धेरै मन पराएको उनले बताएकी छिन् l नारायण मगर, मुनाल शिशिर कोईराला, करण साउद, गौरव गिरी, दिनेश सिंह ठकुरी, जगदिश्वर थापा लगायतका निदेशकहरुसँग सहकार्य गरेकी अनुजाले २ वटा लोकदोहोरी र बाँकी सबै आधुनिक गीतका भिडिओमा आफ्नो अभिनय क्षमता प्रस्तुत गरेकी छिन् l 

म्युजिक भिडिओको अतिरिक्त अनुजाले दुईवटा शर्ट मुभी ‘शतरन्ज’ र ‘टिकटक स्टार’ मा पनि लिड रोलमा अभिनय गरेकी छिन् l शर्ट मुभीको शुटिङकै दौरान उनको अभिनय मन पराएर एकजना निर्देशकले ‘ए साथी सुन’ नामको फिचर फिल्मको लागि अफर गरेको कुरा उनले बताएकी छिन् l ‘त्यो मुभीमा मेरो लिड रोल त छैन तर सानै भएपनि प्रभावशाली छ l म खुशी छु’ उनी भन्छिन् l

म्युजिक भिडिओ मोडलिङमा रफ्तारको यात्रा सुरु भईसकेको अवस्थामा, लोकप्रियताको शिखर चढिरहेको र एकपछि अर्को अफरहरु आईरहेको स्थितिमा दु^र्भाग्यबस उनी बाइक दु^र्घटनामा परिन् र लगभग १ बर्ष बेडरेष्ट नै गर्नुपर्यो l यदि त्यो घटना नघटेको भए यतिबेला उनी फरक पहिचानका साथ स्थापित हुने थिईन् भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ l तथापि यतिबेला उनको यात्रा पुन: नयाँ लयमा अघि बढिरहेको छ l अहिले छायाङ्कन भईसकेका उनका ३ वटा म्युजिक भिडिओ रिलिज हुने तयारीमा रहेका छन् l म्युजिक भिडिओ हुँदै ठूलो पर्दाको चलचित्रमा प्रवेश गर्ने योजनामा रहेकी प्रतिभाशाली कलाकार अनुजा सिंहबाट भविष्यमा अझ उत्कृष्ट कला प्रस्तुतिको अपेक्षा गर्न सकिन्छ l