प्रेमको सन्देश छर्दै गीतकार ‘बगर’

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध सर्जक राजकुमार बगरको शब्दरचना एवं सङ्गीतमा रहेको सकारात्मक भावको गीत ‘तिमी नभए’ को भिडिओ सार्वजनिक भएको छ l राजु कार्कीको म्युजिक एरेन्ज एवं सर्जक ‘बगर’ कै रेकर्डिङ, मिक्सिङ र माष्टरिङ रहेको यस गीतमा रमेश किशोर ढकालले स्वर दिएका छन् l

‘तिमी नभए’ को भिडिओ जनक सिंहको निर्देशनमा छायाङ्कन भएको हो l जसमा लोकप्रिय कलाकार सनम कठायत र कविता न्यौपानेले पति पत्नीको रुपमा शृङ्गारिक अभिनय गरेका छन् l दीपक गिरीको सिनेमाटोग्राफी रहेको यो म्युजिक भिडिओ अमृत चापागाईंको सम्पादन गरेका हुन् l

एउटा सुन्दर र प्रेमिल परिवारको परिकल्पना गरिएको यो गीत तथा म्युजिक भिडिओमा गुणवती पत्नीका कारण घर-परिवार स्वर्गमय भएको देखाईएको छ l पत्नीका कारण आफ्नो जीवन रङ्गीन भएको भाव पतिले व्यक्त गरेका छन् l अक्सर प्रेमी-प्रेमिकाले एक-अर्कालाई गरेको माया, विश्वास र त्यो साथले दिएको खुशी व्यक्त भएका गीतहरु बन्ने गरेकोमा पति-पत्नी बीचको विश्वास, प्रेम र समर्पण भाव व्यक्त भएका यस प्रकारका गीत विरलै मात्र बजारमा आउने गरेका छन् l