सन्तोष र ससिकाको स्वरमा Dumi Airbus 40, भिडिओमा नौलो प्रयोग गरिएको सन्तोषको भनाई  

-तुलसी गिरी ‘भावुक’

लोकप्रिय गायक सन्तोष दुमी राई र सुमधुर स्वरकी धनी गायिका ससिका राईको स्वरमा रहेको गीत Dumi Airbus 40 को लिरिकल भिडिओ सार्वजनिक भएको छ l झट्ट सुन्दा या पढ्दा जो कोहीलाई अनौठो लाग्ने टाइटल भएको यस गीतको भिडिओ गायक सन्तोषकै अफिसियल युट्युब च्यानल SANTOSH DUMEE OFFICIAL बाट डिजिटल बजारमा आएको हो l

सन्तोष दुमीकै शब्दरचना / सङ्गीत रहेको यस गीतमा देवेश राईको म्युजिक एरेन्ज र राजु कार्कीको मिक्सिङ/माष्टरिङ रहेको छ भने गीत किङ स्टुडियोका प्राविधिक सुरेश राईले रेकर्ड गरेका हुन् l गीतको भिडिओ गंगाराम राईको ग्राफिक्समा तयार भएको हो l

‘Hello ! this is dumi air bus 40 क्याप्टेन सन्तोष दुमीको उडानमा यहाँहरुलाई स्वागत छ’ भन्ने एयर होस्टेजको आवाजसँगै गीत सुरु हुन्छ l क्याप्टेन अर्थात सर्जक/कलाकार सन्तोषको एयर बस उडिरहेको हुन्छ, गीत गुन्जिरहेको हुन्छ l गीतको टाइटल जस्तै भिडिओले पनि हर कोहीलाई अचम्ममा पार्न सक्छ l

यो भिडिओ एउटा प्रयोगात्मक प्रस्तुति रहेको कुरा सर्जक/कलाकार सन्तोषले बताएका छन् l श्रोता/दर्शकमा सकारात्मक भाव सञ्चार गराउने यस गीतको भिडिओलाई परम्परागत शैली भन्दा फरक ढङ्गले निर्माण गरिएको कुरा समेत उनले जानकारी गराए l

करिव २ दशक अघिदेखि सङ्गीतकार एवं गायकको रुपमा निरन्तर क्रियाशील रहेका सन्तोष दुमी राईका सङ्गीत र स्वरमा हालसम्म २५० भन्दा बढी गीत रेकर्ड भईसकेका छन् l खोटाङ जन्मथलो भएपनि केही वर्ष यता टोखा-८ बानियाँटारका बासिन्दा सन्तोषले सन् २०१२ मा हङकङमा र गतवर्ष काठमाण्डौमा गरि २ पटक एकल साँझ सम्पन्न गरेका छन् l उनको स्वरमा रहेका ‘घामले आँखा खोलिसक्यो’, ‘रातभरि जून रुँदा’, ‘मुस्कुराई बस तिमी’, ‘निलो आकाश ढाकेर’, ‘सुलाम सिंसो’ ( दुमी गीत ), ‘पर्खि बस्नु है मलाई’, ‘बादलुको पर्दाभित्र’, ‘ईंकी तुम्लो रिदुम् हदुम्’ ( दुमी गीत ), मैले के भूल गरें र’, ‘नुगोबिताम नु आते आस्ता’ ( दुमी गीत ), ‘के नै रैछ र जिन्दगी’ र ‘साल्पै राजा’ आदि गीत निकै लोकप्रिय छन् l