निता आचार्य र प्रताप दासको स्वरमा रोमाण्टिक भावको गीत ‘झिमझिम परेली’


लामो समयदेखि प्रवासमा रहेर गायनमार्फत अनवरत रूपमा नेपाली गीत सङ्गीतमा लागिरहनुभएकी निता आचार्यको नयाँ गीत ‘झिमझिम परेली’ सार्वजनिक भएको छ । गायिका आचार्यलाई स्वरमा प्रताप दासले साथ दिनुभएको सो गीतको भिडिओ काठमाडौंमा एक विशेष समारोहबीच वरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो ।

गायिका आचार्यको सभापितत्वमा सम्पन्न भएको सो कार्यक्रममा गीतकार सङ्घका अध्यक्ष वसन्त वित्यासी थापा, नेपाली फिल्म सोसाइटिका अध्यक्ष, अभिनेता एवं निर्माता कृष्ण मल्ल, सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर, पिम नेपालका अध्यक्ष माधव खरेल, सदाबहार नायिका शर्मिला मल्ल, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, गायिकाका बुबा सुरेन्द्र प्रसाद आचार्य लगायतको आतिथ्यता रहेको थियो ।

अभिनेता एवं निर्माता कृष्ण मल्लले गीत कला क्षेत्रको सर्वव्यापी माध्यम भएको बताउँदै सार्वजनिक गीत ‘झिम झिम परेली’ सबैले रुचाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । गीतकार सङ्घका अध्यक्ष थापाले राम्रो गीत र भिडिओ पनि त्यतिकै उत्कृष्ट रहेको भन्दै बधाई तथा शुभकामना दिनुभएको थियो । यस्तै अन्य अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए । गायिकाका बुबा सुरेन्द्र आचार्यले आफ्ना भनाई राख्दै छोरीलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

सङ्गीतकार शंकर थापा स्माइलले स्वागत मन्तव्य राख्दै गीतको रेकर्डिङदेखि भिडिओ बन्दा सम्मका विभिन्न अनुभव सुनाउनुभएको थियो । कार्यक्रममा अतिथि र गीत एवम् भिडिओसँग सम्बन्धित स्रष्टालाई मायाको चिनो प्रदान गरिएको थियो । गायिका आचार्यले आफू जहाँ भएपनि गीत सङ्गीतसँग जोडिने बताउँदै छिट्टै अर्को गीत पनि स्रोता/दर्शकमाझ ल्याउने तयारीमा रहेको जानकारी गराउनुभयो । कार्यक्रमको सहजिकरण सञ्चारकर्मी गीता अधिकारीले गर्नुभएको थियो ।

डिपी खनालको शब्दरचना रहेको सो गीतमा शंकर थापा ‘स्माईल’ को सङ्गीत र बिषम आचार्यको सङ्गीत संयोजन छ । कुमार केसीले स्टुडियो फिलमा रेकर्डिङ गरेको सो गीतमा अशोक महर्जनको ध्वनि सम्पादन र मिश्रण छ । केशवराज भट्टले निर्देशन गरेको सो गीतको भिडिओमा अलिशा शर्मा र बद्रीप्रसाद तिवारीलाई फिचरिङ गरिएको छ । नवराज उप्रेतीको छायाङ्कन रहेको सो भिडिओमा बन्दे प्रसादको सम्पादन छ । गीतको भिडिओ निता आचार्यकै अफिसियल युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

तस्बिर : सुरेन्द्र थापा