ओएस नेपालको आयोजनामा वरिष्ठ कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को ३४ औं कृति ‘मायाको ऐना’ गीतिएल्बम एक समारोहबीच लोकार्पण भएको छ l कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि एवं गीतकार प्रा. मन्जुल, उपस्थित अतिथिहरु र गीतकार ‘अमर’ ले संयुक्त रुपमा एल्बम सार्वजनिक गरेका हुन् । साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ र साहित्यकार मन्जुलको एक्काइस वर्षपछिको भेटमा सो कार्यक्रमको आयोजना गरिएको हो l
विश्व चर्चित भारतीय गायक कुमार सानुको स्वरमा रहेको ‘तिम्रो मायाको सागरमा पौडिरहन पाउँ’ र सुमन श्रेष्ठको स्वरमा रहेको ‘आँखैमा बस्यौ तिमी’ दुई गीतमा विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ । यसैगरि ‘आगो पानी सहेर अन्यायसँग लड्छौं जब’ लोकप्रिय गायक राजेशपायल राईको स्वरमा र ‘तिम्रै साथ म त हिँडेको देख्छु सपनाको डगर’ अनु चौधरी र प्रताप दासको युगल स्वरमा रहेका छन् । ‘गीत, सङ्गीतको महाउत्सव ओएसम्युजिक अवार्ड’ राम कार्कीको सङ्गीत तथा मुस्कान राई र शान्ता कार्की लगायतको स्वरमा रहेको छ ।
एल्बम सार्वजनिक गर्दै वरिष्ठ साहित्यकार एवं गीतकार प्रा.मन्जुलले भने -‘लामो अन्तराल अर्थात दुई दशकपछि साहित्यकार अमरसँग भेट भयो l अहिले उहाँको रचनामा रहेको एल्बम सार्वजनिक गर्न पाउँदा एकदमै खुशी लागिरहेको छ l दुई दशक अगाडि अनेकौं कार्यक्रमहरूमा हाम्रो भेट भईरहन्थ्यो l साहित्यकार अमर पहिले झैं साहित्य र गीत, सङ्गीतमा निरन्तर लाग्नुभएकोमा खुशी लाग्यो’।
यसैगरि साहित्यकार एवं प्रा. सुस्मिता नेपालले एल्बम सार्वजनिक समारोहमा आफ्ना भनाईहरु राख्दै भनिन्- ‘दुई दशक अघि उहाँ जस्तो बोल्नुहुन्थ्यो आज पनि उस्तै बोल्नुभयो l उहाँको आवाज टाढाबाट पनि चिन्न सक्ने रैछु l एल्बम सार्वजनिक समारोहमा सरिक भएर बोल्न पाउँदा धेरै खुशी लागेको छ l’
ओएसनेपालको प्रस्तुति रहेको सो एल्बम सार्वजनिक समारोहमा सङ्गीतकार सन्तोष श्रेष्ठ, फिल्म निर्देशक रोशन कुमार श्रेष्ठ, फिल्म निर्देशक प्रेम बस्याल, गायक सूर्यकमल राई लगायतले एल्बमको बारेमा आ-आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमको सभापतित्व ओएस नेपालको तर्फबाट विवेक कार्कीले गरेका थिए ।