प्रेम वियोगको पीडा पोख्दै राजकुमार बगर

-तुलसी गिरी ‘भावुक’

बहुआयामिक सर्जक राजकुमार बगरले वियोगान्त भावको गीत ‘बनमा टाँकी छ’ को लिरिकल भिडिओ सार्वजनिक गरेका छन् l सङ्गीत क्षेत्रसँग सम्बन्धित धेरैजसो विधामा उत्तिकै कुशलताका साथ आफ्नो प्रतिभा र सिप पस्किरहेका बगरले आफ्नै शब्दरचना, सङ्गीत र गायनमा ‘बनमा टाँकी छ’ को भिडिओ सार्वजनिक गरेका हुन् l पहिला पहिला यदाकदा मात्र गीत गाउने गरेका, खासगरि गीतकार/सङ्गीतकारको रुपमा विशेष प्रसिद्धि कमाएका बगर पछिल्लो समय लगातार आफ्नो स्वरका गीत सार्वजनिक गरिरहेका छन् l

रोमान्टिक भन्दा वियोगान्त भावमा डुब्न मन पराउने सर्जक बगरले केही समय अघि मात्र लोकप्रिय गायिका शान्तिश्री परियारसँगको युगल स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत बजारमा ल्याएका थिए l अथाह प्रेम हुँदाहुँदै पनि बीचैमा टुटेको वैवाहिक जीवनको विदारक कहानी ‘आँखैमा थियौ सानु’ पछि उनले पुन: वियोगान्त भावकै गीत ‘बनमा टाँकी छ’ ल्याएका हुन् l यस गीतमा आफूबाट टाढिएकी मायालुको यादमा मन जलेका कुरा, छटपटी, भुल्न नसकेको अवस्था र केही प्रश्नहरु पोखिएका छन् l विनोद बमको ग्राफिक्समा तयार भएको यो म्युजिक भिडिओ Bikranta Pokhrel नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ l