खैर, म्युजिक भिडिओबाटै भए पनि राजेशले सेना बन्ने चाह पूरा गरे

-प्रकाश सुवेदी

नेपाली मौलिकता र आफ्नोपनलाई  आधुनिकताले थिचिरहेको आजको अवस्थामा राजन कार्कीको शब्द/लय, यम थापा मगरको सङ्गीत संयोजन र  जीवन दाहाल, राजन कार्की, रमा गौतम र मधू थापाको स्वर रहेको मौलिकताले भरिएको, लोकभाका शैलीको गीत `हङकङको लाहुरे´ को भिडिओ सार्वजनिक भएको छ l

म त हजुर हङकङको लाहुरे
त्यसैमाथि अत्तरै घसेको
थेगो रहेको यस गीतमा नव कलाकार राजेश पौडेललाई लाहुरे पात्रका रूपमा उभ्याइएको छ भने उनलाई अभिनयमा गायक/ गायिकाले नै साथ दिएका छन् । केही दिन अगाडि राजन कार्की युट्युव च्यानलबाट सार्वजनिक भएको यस गीति भिडिओमा गणेश सापकोटाको छायाङ्कन, अमृत चापागाईँको सम्पादन/ रङ्गसंयोजन र सर्जक राजन कार्कीकै निर्देशन रहेको छ ।

गीति भिडिओमा आवद्ध नवनायक राजेश पौडेलका दाइ र भाइ दुबै सेनाको उच्च पदमा सेवारत छन् । दाइ र भाइ मात्र हैन राजेशको गाउँ टक्सार स्याङ्जाका अधिकाँश दामलीहरु कोही भारतीय सेनामा त कोही नेपाली सेनामा भर्ती भएर सेनाको पोशाकमा सजिएको देख्दा राजेशलाई पनि सेनामै भर्ती हुँ कि ? झ‌ैँ भने नलागेको हैन । सानैदेखि चतुर र दूरदर्शी स्वभावका राजेशले सेनामा भर्ती हुनु भन्दा अङ्ग्रेजी विषय पढेर एकेडेमिक क्षेत्रमा लाग्छु भन्ने अठोट गरे ।

उच्च शिक्षाको पूर्वार्धदेखि नै अध्ययन र अध्यापनलाई सँगसँगै लगेका राजेश आफ्नो ब्याचको उत्कृष्ट मध्येका विद्यार्थीमा पर्दथे । स्नातकोत्तर अध्ययन गर्दागर्दै पोखराको एक प्रतिष्ठित सामुदायिक विद्यालयमा प्राचार्य समेत बनेका उनले स्नातकोत्तर पश्चात् केही समय पोखराकै केही क्याम्पसहरुमा अध्यापन गरे । पढाईमा अति लगाव राख्ने राजेशलाई एउटा स्नातकोत्तरले मन मानेन र अर्को विषयमा पनि अध्ययन गर्न बेलायत पुगे ।

बेलायतको अध्ययन पश्चात् सन् २०१३ देखि सपरिवार आप्रवासी भिजामा क्यानडा पुगेका उनी एडमण्टन शहरमा रहन्छन् । सानै उमेरमा प्राज्ञिक क्षेत्रमा राम्रो शाख बनाईरहेका राजेशलाई आफ्नो भाइको नेपाल आर्मीमा भइरहेको पदोन्नति र नेपाली सेनाका बिच उनले पाएको सम्मान देख्दा आजका दिनमा पनि कता कता सेनामै लाग्नुपर्नेरहेछ कि भन्ने लागिरहन्छ ।

त्यहाँ पनि राम्रै पेशा अँगालेको हुनाले राजेशको प्रवासी जीवनशैली राम्रो छ भने सामाजिक सेवामा पनि त्यति नै सक्रीय छन् । पहिल्यैदेखि नेपाल गएर एउटा म्यूजिक भिडिओमा अभिनय गर्छु र त्यो पनि सेनाकै भूमिकामा भन्ने सोच बनाईरहेका राजेश यसपटक म्यूजिक भिडिओमा भए पनि सेना भएरै छाडे । सायद उनको मनासय बुझेर नै होला राजन कार्कीले यो गीत उनकै लागि लेखेका हुन् । राजेश भन्छन्- ‘यो गीति भिडिओ मभित्र बच्चैदेखि रहेको नेपाली सेनाप्रतिको उच्च सम्मान हो ।’