गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ सार्वजनिक


गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक भएको छ । कपनस्थित नेपाल चलचित्र विकाशबोर्डमा बिहीबार आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा समाहित जालहारीको म्युजिक भिडिओ सार्वजनिक भएको हो । मनोज साङ्सोन राईको सङ्गीत तथा राजु कार्कीको सङ्गीत संयोजन रहेको यस गीतमा प्रवीण बेडवाल र रचना रिमालको स्वर रहेको छ । साथमा मन्माबी राई, लिला राई, तुरेम्पा हाङ, सुरेश राईको पनि आवाज रहेको छ ।

‘जालहारी’को भिडिओ हाङ चेम्जोङले निर्देशन गरेका हुन् भने छायाङ्कन तथा सम्पादन इशाक जबेगुले गरेका हुन् । यस भिडिओमा सुन्दर खवास र बिपना आङ्बुहाङको मुख्य भूमिका रहेको छ । नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न सो विमोचन कार्यक्रमको सभापतित्व निर्देशक हाङ चेम्जोङले गरेका थिए भने विशेष अतिथिहरू गीतकार सङ्घका अध्यक्ष बसन्त वित्यासी थापा, पान्थर कलाकर सङ्घका अध्यक्ष दिनेश लिङ्देन, चलचित्रकर्मी सङ्घ नेपालका उपाध्यक्ष शैलेन्द्र नाल्बो लगायत रहेका थिए ।

कार्यक्रममा बोल्दै गीतकार आङ्बुहाङले बाँचुन्जेल गीतहरू लेखिरहने बताइन् । उनले भनिन, ‘म बाचुन्जेल निरन्तर गीत लेखिरहने छु । कलमको मसि सकिएला, तर मेरा दिलभित्रका मसीहरू सकिने छैनन् । त्यसैले बाँचुन्जेल दर्शकस्रोताहरूका लागि गीत लेखिरहनेछु ।’ यसअघि थुप्रै गीतहरू लेखिसकेकी गीतकार आङ्बुहाङ विगत केही समयदेखि पाठेघर क्यान्सर पीडित छिन् । हाल उपचाररत रहेकी उनले यसअघि म्युजिक भिडियो सहितको ‘मेरी आमा’ भाग- १ र भाग-२ निकालिसकेकी छन् भने उनका दुई पुस्तकसमेत प्रकाशन भएका छन् ।

विमोचन कार्यक्रममा बोल्दै कुलपति राईले भने, ‘कल्पना आङ्बुहाङसँग मेरो व्यक्तिगत परिचय थिएनछ l  तर, निर्देशक चेम्जोङ भाइले कल्पना आङ्बुहाङ प्रतिकुल स्वास्थ्यसँग जुधिरहनुभएको छ, जीवनसँग लडिरहनुभएको छ भनेर वहाँको परिस्थिति बताएपछि मैले मन थाम्न सकिन । कुनै पनि कार्यक्रम त्यागेर म आउँछु भनें ।’ उनले किराँत लिम्बुवानभित्रका शब्दहरू यश गीतभित्र समेटिएको बताए । मुन्धुमविद तथा कलाकार यासेली योङ्हाङले संचालन गरेको उक्त कार्यक्रममा एल्बमभित्र काम गर्ने सबैलाई सम्मान गरिएको थियो । सङ्गीतकार ताराप्रकाश लिम्बू, दिनेश बान्तावा, गायक तथा सङ्गीतकार मनोज साङसोन राई, सुरेश साम्पाङ, गायिका सुनिता थेगिम, बाल गायिका रुक्साना लिम्बू, गायिका रचना रिमाल, गायक प्रविन बेडवाल, राजेश पायल राई, कलाकार सुन्दर खवास जालहारी, विपना आङबुहाङ जालहारी, वरिस्ठ निर्देशक हाङ चेम्जोङ, इशाक जबेगु, आयुस्ना श्रेष्ठ, सुन्दर खवास, सामुएल लामा लगायतलाई सम्मान पत्र प्रदान गरिएको थियो ।