यश कुमारको सन्देशमूलक म्युजिकल फिल्म ‘तिमी छौ र त’ सार्वजनिक


मङ्गलबार राजधानीमा आयोजित म्युजिकल सिनेमा भनिएको भिडिओ सार्वजनिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गीत सङ्गीतले समाजमा सकारात्मकता प्रवाह गर्ने भन्दै सर्जकको प्रशंसा गरेका छन् । ‘यो भिडिओ हेरेपछि मलाई असहज पनि भयो । किनकि यो भिडिओले हाम्रो समाजको एउटा संवेदनशील कथालाई देखाएको छ । यो भिडिओ हेरेपछि समाजले केही सिक्छ भन्ने लागेको छ’ मन्त्री किराँतीले भने l  ‘यसलाई मनोरञ्जनको रुपमा मात्र लिनु हुँदैन । यसले समाज सुधार्न भूमिका निर्वाह गर्नुका साथै कूल गार्हस्थ्य उत्पादनमा समेत टेवा दिन्छ’ मन्त्री किराँतीले भने ।’ उनले मनाङ र मुस्ताङमा बढेको पर्यटकमा नेपाली गीत-सङ्गीत र सिनेमाको योगदान रहेको भन्दै यसलाई उद्योगको रुपमा विकसित गर्न सके राम्रो हुने बताए ।

सरकारले लक्ष्य लिएको दश लाख भन्दा बढी पर्यटक हिजोसम्म नेपाल भित्रिएको जानकारी दिँदै मन्त्री किराँतीले गीत-सङ्गीत र सिनेमासँग जोडिएका सर्जकलाई धन्यवाद दिए । मन्त्री किराँतीले गायक यश कुमारको जीवनीसँग प्रभावित भएको जानकारी गराउँदै ‘बालुवाको फूल’ भन्दै अरुका लागि उदाहरण बनेको जिकिर गरेका छन् । यश कुमारले बाल्यकालमा खोला किनारको वस्तीमा बालुवा चालेर जीविकोपार्जन गरेको स्मरण गर्दै मन्त्री किराँतीले उनको प्रशंसा गरेका थिए ।

गायक यश कुमारले गीत-सङ्गीतको माध्यमले मनोरञ्जनसँगै सन्देश प्रभाह गर्न खोजेको बताए । ‘मैले सुरुआती समयदेखि नै गीत-सङ्गीतले पार्ने प्रभावको बारेमा बुझेर त्यही अनुरुप सिर्जना गरिरहेको छु । यसपटक पनि दुई समुदायको अहमताले निम्त्याउने कथालाई देखाएको छु । यसले समाजमा थोरै भएपनि चेतना बढाउने काम गर्छ भन्नेमा विश्वस्त छु’ यश कुमारले भने ।

सार्वजनिक गीतको भिडिओमा यश कुमारसँगै अनु थापा, प्रेम सुब्बा, राजेश घतानी लगायतका कलाकारले अभिनय गरेका छन् । कार्यक्रममा यश कुमारले प्रेमले कुनैपनि जात नहेर्ने बताएका छन् । आफूले ब्राह्मण समुदायको युवक र लिम्बू समुदायकी युवतीबीचको प्रेम बुनेर म्युजिकल सिनेमा निर्माण गरेको उल्लेख गरेका छन् । गायक यशले यो गीतलाई आफूले मौलिक र टिपिकल देखाउन लिम्बू समुदायको बोलीचालीको भाषा प्रयोग गरेकाले यसलाई दर्शकहरुले अश्लिल शब्दको रुपमा बुझेर गाली नगरीदिन आग्रह समेत गीत रिलिज कार्यक्रममा गरेका थिए l