खप्तडमा छायाङ्कन गरिएका तीन म्युजिक भिडिओ एकैसाथ  सार्वजनिक


सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीयस्थल खप्तडमा छायाङ्कन गरिएका तीन गीतका भिडिओ सार्वजनिक भएका छन् । परराष्ट्र मन्त्री एनपी साउदले पर्यटन बोर्डमा आज आयोजित एक समारोहमा उक्त गीतका भिडिओहरु सार्वजनिक गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि रहेका साउदले सुदूरपश्चिमको पर्यटन प्रबर्द्धनका लागि सिर्जनशील शैली अपनाएको बताए । उनले यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रबर्द्धनका लागि सघाउ पुग्ने उल्लेख गरे ।

‘दृष्यमा खप्तड, शृङ्खला-२’ अन्तर्गत समारोहमा शिव परियार र नीता आचार्यको स्वरमा रहेको ‘जिन्दगी त सँगै जिउने हो’ सीडी विजय अधिकारी र नीता आचार्यको स्वरमा रहेको ‘गरिदेऊ बिदा’ र सीडी विजय अधिकारी र अस्मिता अधिकारीको स्वरमा रहेको ‘मन्द मन्द’ बोलका तीन गीतका भिडिओ सार्वजनिक गरिएको थियो । ‘जिन्दगी त सँगै जिउने हो’ को शब्द र सङ्गीत  दुबै दीपक शर्माको, ‘गरिदेऊ बिदा’ को शब्द सागर बास्तोलाको र  सङ्गीत ऋषि खड्काको एवं ‘मन्द मन्द’ को शब्द पद्मा लिंखा मगरको रहेको छ भने सङ्गीत राजकुमार बगरले दिएका छन् l  तीनवटै गीतमा पुरुष मोडलका रुपमा सनम कठायतले अभिनय गरेका छन् भने महिला मोडलका रुपमा स्मारिका ढकाल र सोफी धरेलले साथ दिएका छन् । तीनवटै म्युजिक भिडिओमा जनक सिंहको निर्देशन र सिनेमाटोग्राफी दीपक गिरी एन्ड टिमको रहेको छ । भिडिओको सम्पादन विकास दाहाल र अमृत चापागाईंले गरेका हुन् ।

सुदूरपश्चिमका अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमश: यसैगरी देखाउँदै जानेगरी ‘दृष्यमा सुदूरपश्चिम’ अभियान घोषणा गरिएको छ । डकुमेन्ट्री, म्युजिक भिडिओ, फिल्मलगायतका माध्यमबाट सुदूरपश्चिमको पर्यटन प्रबर्द्धन गरिने कुरा उक्त अभियानको नेतृत्व गरिरहेका सनम कठायत र डिबी खड्काले बताएका छन् ।

कार्यक्रममा कठायतले भने- ‘हामीले दृष्यमा खप्तड ‘पाइल प्रोजेक्ट’का रुपमा अघि सारेका थियौं । सफल भएको छ । अब यसलाई दृष्यमा सुदूरपश्चिम अभियानका रुपमा अघि बढाउनेछौं।’ अभियानको अग्रभागमा रहेको एभरेष्ट ग्यालरी टिममा कठायत र खड्काका साथै निर्देशक जनक सिंह र सिनेमाटोग्राफर दीपक गिरी रहेका छन् । कार्यक्रममा पूर्व पर्यटन मन्त्री तथा सङ्घीय सांसद प्रेम आले, सुदूरपश्चिम प्रदेश सदस्य शिवसिंह ओली, पूर्व संविधानसभा अध्यक्ष भरत खड्का, बडिमालिका नगरपालिका प्रमुख अमर खड्का, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, कांग्रेसका युवा नेता भुपेन्द्रजङ्ग शाही, उद्योग वाणिज्य महासङ्घ कैलालीका उपाध्यक्ष पुष्कर ओझालगायतले उक्त अभियानलाई शुभकामना दिँदै आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।