विश्व कीर्तिमानी डा. उपाध्यायका आठ अनौठा सिर्जना सार्वजनिक


विश्व कीर्तिमानी गीतकार तथा आख्यानकार डा. डि.आर. उपाध्यायले आठ अनौठा सिर्जना सार्वजनिक गर्नुभएको छ । कीर्तिमानी सर्जक डा.उपाध्यायले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त सिर्जनाहरू सार्वजनिक गर्नुभएको हो ।

गीतकार सङ्घका पूर्व अध्यक्ष चूडामणि देवकोटा, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, उपन्यासकार तथा सङ्गीतकार सन्तोष श्रेष्ठ र गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’ लगायतको आतिथ्यतामा डा. उपाध्यायका अनौठा सिर्जना सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएका सिर्जनामा २४ र ३६ इन्चको गीति पुस्तक ‘अलौकिक’, डिआर म्युजिक एण्ड क्रियशनको १२ र ८ को मोज्याक लोगो, चेसबोर्डमा २०० गीत र एक लाइन अङ्ग्रेजी एवं एक लाइन नेपाली रहेको गीति पुस्तक ‘अपरिमित’ रहेका छन् ।

यस्तै, विश्वका विभिन्न डिजिटल क्यामेराको नाम समेटिएको गीति कविता, विश्वका ब्रास ब्याण्डहरूको नाम समेटिएको गीति कविता, हावाले बज्ने नौवटा वाद्ययन्त्रहरूको नामबाट गीति कविता र विश्वका प्रसिद्ध एनिमेटेड फिल्मको नाम लेखिएको गीति कविता रहेका छन् । केही अनौठा काम गर्ने सिलसिलामा यी सिर्जनाको जन्म भएको डा. उपाध्यायले बताउनुभयो ।

डा. उपाध्यायले विभिन्न विधामा १३२ विश्व कीर्तिमान राख्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौँ गीतका भिडिओ पनि सार्वजनिक छन् । कार्यक्रममा पत्रकारहरूले राखेका जिज्ञासाको उत्तर दिँदै डा. उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५१ पुग्ने तयारीमा रहेको जानकारी दिनुभएको थियो ।