डी. आर. को सातौँ आख्यान कृति ‘खोक्पा’ सार्वजनिक

-तुलसी गिरी ‘भावुक’

लोकप्रिय गीतकार एवं आख्यानकार डी. आर. ( दिनेशकुमार राई) को कथासङ्ग्रह ‘खोक्पा’ को लोकार्पण भएको छ l आज दिउँसो अनामनगरस्थित किम्ची रेष्टुरेन्टको सभा हलमा आयोजित एक समारोहमा सो पुस्तकको लोकार्पण भएको हो l कार्यक्रमका सभापति वरिष्ठ साहित्यकार भुवनहरि सिग्देल, प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, वरिष्ठ साहित्यकारहरु महेश पौड्याल, हेम भण्डारी, निमग्ना घिमिरे र पुस्तकका लेखक डी. आर. ले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका थिए l

पेज टर्नर प्रा. लि., बागबजारद्वारा प्रकाशित यस पुस्तकमा बूढो रुख, पुच्का, परिवर्तन, परिणाम, हराएको नाता, रवि, नयाँ बाकस, गाड्धन, लाहुरेको निसानी, मायाको चिनो र लङ्गडो साथी गरी ११ वटा कथा सङ्ग्रहित छन् भने पुस्तकको मूल्य रू. ४००/- राखिएको छ l पुस्तक पिता स्व. कृष्णबहादुर राई (गान्धी) र माता स्व. कमलकुमारी राईमा समर्पित रहेको छ l

समारोहमा आफ्ना कुराहरु राख्दै लेखक डी. आर.ले गीत लेखनबाट साहित्यिक यात्रा सुरु गरी बिस्तारै साहित्यका अन्य विधातिर पनि ढल्किएको जानकारी गराए l पुस्तकमा सन्देशमूलक कथाहरु रहेको बताउँदै निष्पक्ष प्रतिक्रियाका लागि समेत उनले आग्रह गरेका छन् l यसैगरी वरिष्ठ साहित्यकार हेम भण्डारीले डी. आर. आफ्नो गाउँले दाइ भएको बताउँदै केही कथाहरुमा कतै कतै आफू पनि जोडिएको जानकारी गराए l उनले अगाडि भने-‘पुस्तकका कथाले मूलत: प्रकृति, पहिचान र प्रतिरोधलाई उठाउन खोजेका छन् l ११ वटै कथालाई हेर्दा अप्राकृतिक विषयको हार नै भएको छ l जीवनको उत्तरार्धलाई पनि कथामा सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ भने जनजातीय लवजको सौन्दर्य र शालीन ढङ्गका प्रतिरोधहरुले उपन्यास हुँदै कथासम्म आईपुग्दा डी. आर. को लेखनशैली र मिठासको गति बढ्दै गएको महसुस हुन्छ l’

पुस्तकका अर्का समीक्षक वरिष्ठ साहित्यकार महेश पौड्यालले पाठकहरु तीब्र चेतनाकासाथ आईरहेको बेला यस प्रकारको आख्यान लिएर आउनु पनि ठूलै हिम्मतको कुरा भएको बताए l पुस्तकको कभर डी. आर. कै सिर्जनशीलता भएको जानकारी गराउँदै उनले दार्शनिकता झल्किएको यस पुस्तकको कभरमा सकारात्मकता र नकारात्मकताको सुन्दर मिश्रण भएको विचार राखे l ‘डी. आर. का कथामा आफू जन्मेको भूगोलको बास्ना छ l उनी वास्तविकतामा जस्ता सादगी छन् कथाहरु पनि उस्तै छन्’ पौड्यालले भने l समारोहमा साहित्यकार निमग्ना घिमिरेले पनि पुस्तकको बारेमा आफ्ना बिचारहरु राखेकी थिईन् l कार्यक्रमको सहजीकरण साहित्यकार महेश कार्की क्षितिजले गरेका थिए l            

बाचा (२०५९), यादमा (२०६५), भूल (२०६८), फष्ट मुभ (२०७०), गहिराई (२०७३), भुइँचम्पा (२०७७) र गीत (२०७९) गरी ७ वटा गीति एल्बम प्रकाशन गरी सङ्गीत क्षेत्रमा एक कुशल गीतकारको पहिचान स्थापित गरिसकेका साहित्यकार डी. आर. का यसअघि नयाँ मोडहरुमा (२०६३), कान्तिपुरदेखि सन्दकपुरसम्म (२०६६), आत्मभाव (२०७२), तिलस्मी (२०७५), समयको डोब (२०७७) र सेन्टोसा (२०७७) गरी ६ वटा पुस्तक प्रकाशन भएका थिए भने खोक्पा (२०८०) को लोकार्पण भएपछि पुस्तकको संख्या पनि सात नै पुगेको छ l