गीतकार डी.पी. खनालको जीवन रक्षाका लागि गीतकार सङ्घको अपिल

-तुलसी गिरी ‘भावुक’

गीतकार सङ्घ नेपालले लोकप्रिय गीतकार डी. पी. खनाल (दुर्गा प्रसाद खनाल) को जीवन रक्षाका लागि आर्थिक सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका सर्जक, कलाकार, प्राविधिक, सङ्घ-संस्था एवं समग्र सङ्गीतप्रेमी नेपालीहरुमा अपिल गरेको छ l 

गीतकार खनाल अचानक अस्वस्थ भई गत कात्तिक ३० गते पाटन अस्पताल भर्ना भएका थिए l उनी हालसम्म उपचाररत अवस्थामै रहेका छन् l अस्पताल भर्ना भई चेकजाँच पछि फोक्सो र ढाडमा रगतका साथै पिप समेत जमेको पत्ता लागेको थियो l हालसम्म उपचार भईरहेको र स्वास्थ्यमा केही सुधार आएको भएपनि के कारणले त्यस्तो भएको हो ? र के कति समय उपचार गर्नुपर्ने हो ? भन्ने कुरा अहिलेसम्म यकिन हुन नसकेको सङ्घले प्रकाशित गरेको अपिलमा भनिएको छ l

‘करिव ४० दिनदेखिको उपचार क्रममा ठूलो धनराशी खर्च भईसकेको र खर्चको अभाव हुँदै गएको जानकारी प्राप्त भएकोले  यस सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाको नेत्तृत्वमा गएको सल्लाहकार राजेन्द्र थापा, उपाध्यक्ष रमेश कोईराला, महासचिव टिका राई ‘शिव’, र कोषाध्यक्ष चेतन खतिवडाको टोलीले गीतकार खनाललाई अस्पतालमै भेटेर स्वास्थ्य स्थितिको बारेमा जानकारी लिएपछि सङ्घको तर्फबाट नगद रू.२५ हजार आर्थिक सहयोग समेत गरिएको छ’ अपिलमा भनिएको छ l

गीतकार खनालले आफ्नै स्रोतबाट मात्र उपचार खर्च जुटाउन सम्भव नदेखिएको भन्दै उनको जीवन रक्षाका लागि व्यक्तिगत र संस्थागत रुपमा यथासक्य आर्थिक सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका सर्जक, कलाकार, प्राविधिक एवं समग्र सङ्गीतप्रेमी नेपालीहरुमा गीतकार सङ्घ नेपालले हार्दिक अपिल गरेको छ l ईच्छुक दाताहरुले सिधै Geetkar Sangh Nepal को नाममा एभरेष्ट बैंकमा रहेको खाता नम्बर ००१००१०५२००८४७ मा जम्मा गर्न वा सङ्घका अध्यक्ष वसन्त बित्यासी थापा (९८४९६११२३९), महासचिव टिका राई ‘शिव’ (९८५२८९०३८३) र कोषाध्यक्ष चेतन खतिवडा (९८५११६७२९२) लाई सम्पर्क गरी नगदै सहयोग गर्न सक्ने कुरा समेत अपिलमा जानकारी गराईएको छ l