पुस १२ बाट मञ्चन हुने नाटक ‘पगला घोडा’को टिजर सार्वजनिक


पुस १२ गतेबाट मण्डला नाटक घरमा मञ्चन हुने नाटक ‘पगला घोडा’को टिजर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल मार्फत नाटकको टिजर सार्वजनिक गरिएको हो । निकै आकर्षक प्रस्तुति रहेको टिजर पिक्सेल स्क्वायरले तयार पारेको हो । थिएटर आकारको प्रस्तुति रहेको उक्त नाटक पुस १२ गतेबाट माघ ६ गतेसम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ भने शनिवार भने दुई सो राखिएको  छ ।

 भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारको कथा रहेको यो नाटक नेपाली भाषामा अनुवाद गरी मञ्चन गर्न लागिएको हो । नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन् । उनलाई अनुवादमा आलेख सुपरिवेक्षकको रूपमा कलाकार  तथा निर्देशक आशान्त शर्माले सहयोग गरेका छन् ।

नाटक घनश्याम श्रेष्ठले निर्देशन गर्दैछन् । मञ्चमा भने कलाकारहरू प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारी लगायतका कलाकार देखिने छन् । नाटकमा सुष्मा कोइराला सहायक निर्देशक र  शंकर भण्डारी  स्टेज म्यानेजरको रूपमा रहेका छन् ।

२०६८ सालमा स्थापना भएको थिएटर आकारले थुप्रै नाटकहरू मञ्चन गरिसकेको छ । जसमा ‘अनुहार हराएको’, ‘बिम्बाको सपना’, ‘यो कुनै बास हो एक’,  ‘बेड नम्बर ९९’, ‘तीन  बहिनी’, सोलो म्युजिकल प्रस्तुति`(भरत नाट्यम्) लगायत रहेका छन् ।