गायिका रीता के. सी. लाई थेम्स युनिभर्सिटीद्वारा मानार्थ विद्यावारिधि उपाधि 

-तुलसी गिरी ‘भावुक’

लोकप्रिय गायिका रीता के. सी. लाई थेम्स युनिभर्सिटी, फ्रान्सले सङ्गीतमा मानार्थ विद्यावारिधिको उपाधिबाट सम्मानित गरेको छ l नोभेम्बर-२५, २०२३ मा थाईल्याण्डमा आयोजित एक विशेष समारोहमा युनिभर्सिटीले गायिका के.सी. लाई सो उपाधिबाट सम्मानित गरेको हो l समारोहमा उनीसँगै थाइल्याण्ड, फिलिपिन्स, भियतनाम र इन्डियाका व्यक्तिहरुलाई समेत सो उपाधि प्रदान गरिएको थियो l उनले प्राप्त गरेको यो उपाधिलाई समग्र कलाकर्मी र मुलुककै लागि समेत गौरवको रुपमा हेरिएको छ l गायिका के.सी. ले त्रिभुवन विश्वविद्यालयबाट सङ्गीतमा माष्टर्स सम्मको अध्ययन पूरा गरिसकेकी छिन् l उनी सङ्गीत विधामा त्रिभुवन विश्वविद्यालयबाट माष्टर्स पूरा गर्ने थोरै महिला गायिकाहरु मध्येकी एक हुन् l          

टारीगाउँ- ४, दाङ निवासी पिता सुर बहादुर के.सी. र माता लालसरी के. सी. को परिवारमा कान्छी छोरीको रुपमा जन्मिएकी रीताले कक्षा ८ सम्मको पढाई स्थानीय स्कूलबाटै पूरा गरेकी थिईन् भने त्यसपछिको पढाईका लागि उनी ठूली दिदी मिना के.सी.को साथमा काठमाण्डौ आएकी थिईन् l सानै उमेरदेखि गीत-सङ्गीतप्रति गहिरो झुकाव भएकी रीताले एस. एल. सी. पछि ललितकला कलेजबाट सङ्गीतको पढाईलाई अगाडि बढाएकी थिईन् l उनले ललितकलाबाटै माष्टर्स पूरा गरेकी हुन् l  

१६ वर्ष अघि वसन्त सापकोटाको सङ्गीतमा चलचित्र ‘जोखिम’ का लागि ‘तिमी आयौ मधुमास आयो’ बोलको गीत रेकर्ड गरेर औपचारिक रुपमा गायन यात्रा सुरु गरेकी रीता त्यसपछि अनवरत यात्रामै छिन् l चलचित्र गायनबाट यस क्षेत्रमा प्रवेश गरेकी उनले त्यसपछि बस्ती (थारु चलचित्र), लडाइँको लाहुरे, वीरताको चिनो, राजभाइ, हाउ फन्नी लगायत ९८ चलचित्रमा, १२७ लोक र २१२ आधुनिक गरी कूल ४ सय भन्दा बढी गीतमा स्वर दिएकी छिन् l उनका सर्वाधिक लोकप्रिय गीतहरु सम्झनु पर्दा ‘भन के गर्नुपर्छ, जाउँला कान्छी जलजला, मुटु चुडिन्छ, के पर्यो कान्छाको पूरा नाम, ओई सुन्तली, बमबम भोले, तिमी आयौ मधुमास आयो’ आदि गीतको नाम लिन सकिन्छ l

रापती म्युजिक अवार्ड-२०११, रापती म्युजिक अवार्ड-२०१२, छायाछवि तीज म्युजिक अवार्ड-२०१६, सगरमाथा म्युजिक अवार्ड-२०१८, बोष्टर अवार्ड-२०२१, सगरमाथा म्युजिक अवार्ड-२०२२, म्युजिक खबर म्युजिक अवार्ड-२०२२ र हिमालयन इन्टरनेशनल अवार्ड-२०२३ गरी ८ वटा राष्ट्रिय अवार्ड प्राप्त गरिसकेकी गायिका रीताले फ्रान्स, बेल्जियम, जर्मनी, नर्वे, स्विट्जर्ल्याण्ड, स्पेन, लक्जम्बर्ग, फिनल्याण्ड, अष्ट्रिया, पोल्याण्ड, माल्टा, जापान, दुबई, बहराइन, थाइल्याण्ड, कतार, मलेसिया, बङ्गलादेश, इन्डिया लगायत २७ अन्तर्राष्ट्रिय मुलुकहरुमा आफ्नो साङ्गीतिक प्रस्तुति दिईसकेकी छिन् l