बिचैमा टुटेको प्रेम कहानी ‘आँखैमा थियौ सानु’

-तुलसी गिरी ‘भावुक’

लोकप्रिय सर्जक राजकुमार बगर र गायिका शान्तिश्री परियारको स्वरमा रहेको वियोगान्त भावको गीत ‘आँखैमा थियौ सानु’ को भिडिओ सार्वजनिक भएको छ l बगर स्वयंको शव्दरचना, सङ्गीत र मिक्सिङ/माष्टरिङ रहेको यस गीतमा कमल सौरागले सङ्गीत संयोजन गरेका छन् l शब्दको भाव अनुसार हृदय वि*दारक गायकी रहेको यस गीतमा गीतकार/सङ्गीतकार राजकुमार बगरले आफूलाई उत्तिकै सशक्त गायकको रुपमा समेत प्रस्तुत गरेका छन् l

पुरानो म्युजिक कम्पनी पशुपति म्युजिकको अफिसियल युट्युब च्यानल Pashupati Music बाट शुक्रबार डिजिटल बजारमा आएको यो भिडिओ विक्रम चौहानको कथा/निर्देशनमा तयार भएको हो l जसमा सारिका के.सी. र गोविन्द पोखरेलले अभिनय गरेका छन् भने प्रकाश खड्काको छायाङ्कन र मिलन विश्वकर्माको सम्पादन रहेको छ l

भिडिओमा पत्नीप्रति अथाह प्रेम हुँदा हुँदै पत्नीको कारण बिचैमा टुटेको बैबाहिक जीवनलाई जीवन्त ढङ्गमा प्रस्तुत गरिएको छ l प्रेम एउटासँग र विवाह अर्कैसँग भएपछि उत्पन्न असन्तुलित मानसिक अवस्था र त्यसको दुखद् परिणामलाई उजागर पारिएको छ l हाम्रै समाज वरिपरिका सम्भावित कथावस्तु बोकेको यो भिडिओ सन्देशमूलक समेत रहेको छ l