गीतकार पहारीको जीवनदर्शन ‘कस्तो रैछ जिन्दगी यो’ अब भिडिओमा


नेपाली सङ्गीत क्षेत्रका सदाबहार गायक रामकृष्ण ढकालको सुमधुर स्वरले सजिएको विल्कुलै नयाँ गीत ‘कस्तो रैछ जिन्दगी यो’ को भिडिओ NARAHARI PREMEE युट्युब च्यानलबाट सार्वजनिक भएको छ l वरिष्ठ साहित्यकार, कवि तथा गीतकार राम बहादुर पहारीको अत्यन्तै मर्मस्पर्शी भावको रचनालाई लोकप्रिय गायक/सङ्गीतकार नरहरि प्रेमीले सङ्गीतवद्ध गरेका हुन् l

यस गीतमा जीवनदर्शन झल्काउने मीठो र सरल प्रयास गरेका छन् गीतकार पहारीले l समय समयमा आफ्नो भाग्यलाई जीवनसँग समानान्तर रुपमा तुलना गरिरहने मानवीय स्वभावलाई छर्लङ्ग पारेको छ यस गीतले l ‘भाग्य फेरूँ भन्दा भन्दै निधारैमा लेखिसक्यो’ भन्दै अघि बढेको शब्दसिर्जनालाई सङ्गीतकार प्रेमीको गहकिलो धुनले गम्भीर प्रवाह त दिएकै छ, झन् त्यसमाथि सर्वप्रिय गायक रामकृष्ण ढकालको ओजपूर्ण आवाजले गर्दा अति नै कर्णप्रिय बन्न पुगेको छ यो गीत l

बहुआयामिक व्यक्तित्वका रुपमा चिनिएका प्रसिद्ध साहित्य सर्जक राम बहादुर पहारीको एकल शब्द र सङ्गीत साधकको छवि बनाएका सङ्गीत गुरु नरहरि प्रेमीको एकल सङ्गीत सिर्जना रहेको ‘झरी’ गीतिसङ्ग्रहको गीत हो ‘कस्तो रैछ जिन्दगी यो’ l ‘झरी’ सङ्ग्रहका अन्य गीतको पनि क्रमैसँग भिडिओ आउने तयारी भइरहेको कुरा गीतकार पहारीले जानकारी गराएका छन् l

कुनै समय रेडियो नेपालबाट स्वर परिक्षा उत्तिर्ण गरी गायक बनेका र उतिबेला रेडियो नेपालले दिएको डेटमा केही गीतहरु समेत रेकर्ड गरेका गायक हुन् यस गीतका गीतकार l तर विडम्बना ! अचानक उनको घाँटी (भोकल कड्स) मा गम्भीर समस्या देखिएपछि डाक्टरको सल्लाहमा उनले गाउन छाडेका हुन् l ‘गीतकार पहारी गायक समेत भएका कारण पनि उनका प्रत्येक रचनामा लयात्मकता हुन्छ र अदृश्य रुपले आफैं सङ्गीत बगिरहेको भान हुन्छ’ भन्दै मुक्त कण्ठले प्रशंसा गर्न पछि पर्दैनन् सङ्गीतकार प्रेमी l

जे होस् गीत मात्र होइन गीत सँगसँगै भिडिओ पनि त्यत्तिकै सुन्दर बनेको छ l स्व. भूपाल बरालको गज्जबकै अभिनय देख्न पाइने यस भिडिओको निर्देशन, छायाङ्कन तथा सम्पादन भने जीवन रसाईलीले गरेका हुन् l आफैंमा चर्चित निर्देशक, सम्पादक, गीतकार तथा सङ्गीतकार समेत रहेका राजकुमारको डिजाइन पनि निक्कै आकर्षक रहेको छ l भिडिओ श्रुति सङ्गीत विद्यालयको प्रस्तुतिमा बजारमा आएको हो l