गीतकार गौडेलको गीतमा बाबुल र समीक्षाको स्वर

-प्रकाश सुवेदी

जागिर र व्यावसायिक यात्राका सिलसिलामा बिगत १ दशक भन्दा लामो समयदेखि जापानको ओशाका सहरलाई आफ्नो कर्मथलो बनाउँदै आएका गीतकार टि.आर. गौडेलको शब्दमा `माया जोख्ने तराजु पा’छैन´ बोलको गीतको भिडिओ डिजिटल नेष्ट नामक युट्युव च्यानल मार्फत साङ्गीतिक बजारमा सार्वजनिक भएको छ ।

अहिलेका चर्चित गायक तथा सङ्गीतकार बाबुल गिरीको स्वर तथा सङ्गीतमा तयार भएको यस युगल गीतमा गायनमा समीक्षा अधिकारीले साथ दिएकी छन् । म्यूजिक नेपालको स्टुडियोमा रेकिर्डिङ भएको यस गीतमा ध्वनि सम्पादन तथा समिश्रणको काम प्रकाश खरेलले गरेका हुन् ।

गीतकार गौडेल स्वयंले नै निर्देशन गरेको यस गीतको भिडिओमा पवन सुस्लिङको छायाङ्कन र शिलन लम्सालको सम्पादन रहेको छ भने भिडिओमा प्रथम क्षेत्री र पुनम श्रेष्ठको अभिनय रहेको छ । सच्चा प्रेम गर्नेहरु अप्ठ्यारोमा तर्किँददैनन् बरु झन् साथ दिन तत्पर हुन्छन् भन्ने सन्देश दिएको यस भिडिओमा गौडेलले कलाकार प्रथमलाई क्यान्सर बिरामीको रूपमा र पुनमलाई निस्वार्थ प्रेमिकाको रूपमा उभ्याएका छन् । कलिलो हुँदा तामाले आकाश छुने महत्वाकाङ्क्षा राखेर हुर्किए पनि जब परिपक्व बन्दै बाँस बन्छ तब ननुगी सुखै पाउँदैन भन्ने भाव पस्किएको यस गीतमा मान्छेलाई पनि अनेक परिस्थितिले नुगाएरै छाड्छन् भन्ने दर्शाइएको छ । जापानी भाषामा समेत सबटाइटल राखिएको यस गीतको जापानी भाषानुवाद आबे मिनाकोले गरेका हुन् ।