सांस्कृतिक संस्थानले नियमित ‘ठेट नेपाली सांस्कृतिक शो’ को आयोजना गर्ने

-तुलसी गिरी ‘भावुक’

सांस्कृतिक संस्थानले आगामी पुसको पहिलो साताबाट विदेशी पर्यटक लक्षित ठेट नेपाली सांस्कृतिक शो Songs of Soil (माटोको गीत) स:शुल्क साप्ताहिक रुपमा आयोजना गर्ने भएको छ l संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा संस्थानद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराईएको हो l

सांस्कृतिक पर्यटनको विकाशमा टेवा पुर्याउन, विदेशी पर्यटकलाई नेपालको मौलिक संस्कृतिबारे अवगत गराई प्रस्तुतिजन्य लोकसंस्कृतिलाई विश्वमाझ चिनाउन, देशभरका लोकसंस्कृतिकर्मी एवं कलाकारहरुलाई चलायमान बनाउन र लोकसंस्कृतिलाई पुँजी निर्माणतर्फ अग्रसर गराउन यस प्रकारको कार्यक्रमको आयोजना गर्न लागिएको कुरा संस्थानका महाप्रवन्धक अशोक प्यासी राईले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् l महाप्रवन्धक राईका अनुसार यही मङ्सिर २९ गते प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यक्रमको उद्घाटन गर्नेछन् भने उद्घाटन समारोह पश्चात ‘माटोको गीत’ को प्रथम प्रदर्शन समेत हुने छ l संस्थानकै मेघा हलमा आयोजना हुने सो कार्यक्रममा मन्त्रीहरु, सांसदहरु,  संवैधानिक आयोगका प्रमुखहरु, मन्त्रालयका सचिवहरु, पर्यटन बोर्डका पदाधिकारीहरु, विदेशी राजदुतहरु, अन्तर्राष्ट्रिय सङ्घसंस्थाका पदाधिकारीहरु, पर्यटनकर्मीहरु, विभिन्न जातजातिका अगुवाहरु, विभिन्न सांस्कृतिक अन्वेषकहरु, अध्येताहरु, लेखक, प्राध्यापक आदिको उपस्थिति रहने बताईएको छ l

नेपालको मौलिक एवं रैथाने संस्कृति, सभ्यता, रहनसहन तथा जीवनशैली झल्कने सो कार्यक्रमका प्रस्तुतिहरु मनोरन्जनभन्दा बढी प्राज्ञिक, खोजमूलक र यथार्थपरक हुने जानकारी दिईएको छ l विभिन्न जातजाति, समुदाय एवं भेगमा प्रचलित प्रस्तुतिजन्य लोककलालाई प्रामाणिक, आधिकारिक र प्रभावकारी बनाउन सम्बन्धित विषय विज्ञहरुको परामर्श, मूल्याङ्कन तथा सुझाव लिनका लागि ‘प्रस्तुति छनोट समिति’ पनि गठन गरिएको थाहा भएको छ l

नेपाल पर्यटन बोर्ड र संस्कृति तथा पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न निजी तथा सरकारी सङ्घ-संस्थाहरुसँग सहकार्य रहने सो कार्यक्रममा विविधता ल्याउनका लागि समय, सन्दर्भ र ऋतु अनुसार प्रस्तुतिहरु फरक फरक हुने छन् भने सबै प्रस्तुतिहरुलाई अभिलेखीकरण गरी निकट भविष्यमै डिजिटल लाइब्रेरी तयार गर्ने संस्थानको योजना रहेको छ l

नेपाली परिकारका साथ रात्रीभोज सहित केही महिना साप्ताहिक रुपमा आयोजना गर्न लागिएको र आवश्यकता हेरेर शो बढाउने योजना समेत रहेको सो कार्यक्रमका लागि सुरुआती चरणमा नेपाली नागरिकका लागि रू. ५००/-, भारत र चीनका दर्शकका लागि रू.१,०००/- र अन्य अन्तर्राष्ट्रिय मुलुकका दर्शकका लागि रू.१,५००/- शुल्क तोकिएको छ l यस कार्यक्रमबाट नेपालमा सांस्कृतिक पर्यटनको विकाशमा टेवा पुग्ने, देशको संस्कृति र सभ्यता विश्वमाझ पुग्ने, पुँजी निर्माणमा सांस्कृतिक क्षेत्रको योगदान रहने एवं बहुजाति, बहुभाषी र बहुसांस्कृतिक मुलुकका रुपमा नेपाल विश्वमाझ चिनिन अझ सहज हुने विश्वास गरिएको छ l