‘लोजिमा’को पहिलो ट्रेलर सार्वजनिक, प्रीमियर नहुँदै व्यापक चर्चा   


सागर सुब्बाद्वारा निर्देशित लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘लोजिमा’ को पहिलो ट्रेलर सार्वजनिक गरिएको छ l ट्रेलरमा एक जोडीको प्रेममा अर्की युवतीको प्रवेश भएपछि माया प्रेममा आउने उताव चढाव, लिम्बू संस्कृति र सामाजिक बिषयबस्तुका झलकहरु प्रस्तुत गरिएको छ l

सार्वजनिक गरिएको ट्रेलरमा नायिका बिमला लिम्बू, निशाम तुम्बापो लगायतका कलाकारहरुको उत्कृष्ट अभिनय देख्न सकिन्छ l पाथीभरा च्यानलको ब्यानरमा निर्माण भएको यस चलचित्रका बिशेष प्राविधिक सहयोगी निर्देशक वसन्त अधिकारी हुनुहुन्छ l चलचित्रमा सञ्जय अधिकारीको सम्पादन र अशोक राईको पार्श्व सङ्गीत रहेको छ भने साउण्ड डिजाइन मानषी किरणले र पोष्टर तथा स्टिकर डिजाइन आइडियल डिजाइनर्सका निर्देशक सुन्दर श्रेष्ठले गर्नुभएको हो l ‘सर्वोत्कृष्ट राष्ट्रिय सांस्कृतिक अवार्ड’ पाउन सफल शेर्पा भाषाको चलचित्र ‘कुसुम’ को निर्देशन गरेर चर्चामा आउनुभएका निर्देशक सागर सुब्बाको कथा/निर्देशन रहेको यस चलचित्रको पटकथा/संवाद सागर केरुङ्ले लेख्नुभएको हो l

यस चलचित्रमा बिमला खजुम लिम्बूको आलावा आशाहाङ आङ्बो, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पहिम, नुनाम केरुङ, हस्त लिबाङ, साहाराहाङमा पन्धाक लिम्बू, सेरिना राई, बिनी सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा, देवी लिम्बू, ज्ञानु खम्दाक, लगायतका कलाकारहरुको अभिनय रहेको छ l

चलचित्रमा निर्माता आशाहाङ आङ्बो, कार्यकारी निर्माता पम्फावती राई, मुख्य सहायक निर्देशक दीपक अधिकारी, छायाकार रविन्द्र बराल र  मेकअप आर्टिष्ट नरेश खरेल रहेका छन् l अशोक लोहरुङ राईको म्युजिक एरेन्ज रहेको यस चलचित्रमा मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ । चलचित्रको पोष्ट प्रोडक्सन भिजन नेपाल फिल्मसले गरेको हो भने र स्वराङ्कन एम. के. प्रोडक्सनमा भएको हो l

आगामी पुस ८ अर्थात् डिसेम्बर २४ का दिन सिक्किममा चलचित्रको प्रीमियर हुने निश्चित भएको कुरा चलचित्रका कथाकार तथा निर्देशक सागर सुब्बाले जानकारी गराउनुभएको छ l ग्राण्ड प्रीमियरपछि सिक्किमका विभिन्न स्थानका साथै काठमाडौं, झापा, पान्थर, ताप्लेजुङ र ईलाम लगायत अन्य ३० भन्दा बढी स्थानमा प्रदर्शन मिति र स्थानको समेत पक्का भईसकेको कुरा निर्देशक सुब्बाले बताउनुभएको छ l नेपाल र सिक्किम बाहेक अन्य अन्तर्राष्ट्रिय मुलुकहरु युके, कोरिया, हङकङ, मलेशिया लगायतका देशहरुमा पनि प्रदर्शन हुने जानकारी प्राप्त गराईएको छ l चलचित्र भनेको केवल मनोरन्जनको लागि मात्र नभएर समाज रुपान्तरणका लागि चेतना र सन्देशको संवाहक पनि हुनु पर्दछ भन्ने कुरामा आफू सचेत रहेको कुरा निर्देशक सागर सुब्बाले बताउनुभएको छ l