सुशील ज्ञवाली र शान्तिश्रीको स्वरमा ‘लजाउँदै लजाउँदै’, छोटो समयमा २ लाख बढी भ्युज l


गायक सुशील ज्ञवालीले ‘लजाउँदै लजाउँदै’ बोलको आफ्नो नविनतम लोकदोहोरी गीतको भिडिओ सार्वजनिक गरेका छन् । उनले सुशील ज्ञवाली नामक आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको फरक प्याटनको सो लोकदोहोरी गीतको भिडिओ २ लाख भन्दा बढी युट्युब प्रयोगकर्ताले हेरिसकेका छन् । मिठो सुनिने यस लोकदोहोरीमा गायक ज्ञवालीलाई गायनमा शान्तिश्री परियारले साथ दिएकी छन् ।

हरि गिरी विमर्शीको शव्दरचना र सङ्गीत तथा एचबिएन किस्मतको सङ्गीत संयोजन, मिक्सिङ र मास्टरिङ रहेको छ । गीतमाथि रमाइलो ढंगको भिडिओ निर्माण गरिएको छ । गम्भीर विष्ट र गीता ढुंगानाले अभिनय र नृत्य गरेको यस भिडिओको निर्देशन मौसम हिमालीले र कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् भने छायाङ्कन अर्जुन तिवारीको तथा सम्पादन र भिएफएक्स मनोज कार्कीको रहेको छ ।

एक दशक अघिदेखि जापानमा बसेर रेष्टुराँ व्यवसायमा संलग्न रहँदै आएका ज्ञवालीले हालै नेपाल आएको मौका पारेर रेकर्ड गरेको गीत म्युजिक भिडिओसहित जापान पुगेर सार्वजनिक गरेका हुन् । नवलपरासीको रजहरका सुशीललाई सङ्गीतको रस यसरी बस्यो कि देश छोडेर विदेशमा बसे पनि झझल्को भने गीतसङ्गीतकै आउने गर्छ रे !

गाउँमै ९-१० कक्षामा पढ्दादेखि नै स्कुलमा हुने कार्यक्रममा गीत गाउन अघि सर्ने उनी जापानमा हुने सांस्कृतिक कार्यक्रममा पनि गीत गाउन मञ्चमा चढ्छन् । २०६४ सालमा पहिलोपटक लोकदोहोरी एल्बम ‘रैछौ चिटिक्कै’ बजारमा ल्याएर आफूलाई गायकका रूपमा अघि सारेका सुशीलको पहिलो एल्बमकै शीर्ष गीतले बजार पिटेपछि उनलाई यो क्षेत्रमा निरन्तरता दिन सजिलो भएको रहेछ ।

पहिलो एल्बम र त्यसको गीत चलेपछि सुशीलले लगत्तै २०६५ सालमा दोस्रो एल्बम ‘दाइको साली’ ल्याएका थिए । त्यसयता ‘तिम्रै बोली सुनेर’ रोईला, बोलायो मायाले, आमाको बेदना, हाम्रो नवलपरासी, लास्टै मन परेर, चुरिया छ्याई छ्याई, तिम्रै माया लाग्छ जस्ता लोक र लोकदोहोरी गीत बजारमा ल्याईसकेका छन् ।