अनेसास नेपाल च्याप्टरद्वारा सर्जकहरु सम्मानित, ‘राहुल-यशोधरा’ गीतिनाटकको लोकार्पण  


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बोर्ड अफ ट्रष्टि (BOT) सल्लाहकार रोहिणी शर्मा र अनेसासका पूर्व सचिव तथा अन्तर्दृष्टिका प्रधान सम्पादक लालगोपाल सुवेदीलाई हालै अनेसास नेपाल च्याप्टरको धोविधारामा रहेको कार्यालयमा एक कार्यक्रम गरी सम्मान गरेको छ । सोही अवसरमा लालगोपाल सुवेदीबाट लिखित राहुल-यशोधरा संवाद नामक गीतिनाटक कृतिको समेत गृहलोकार्पण गरिएको थियो ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्व र अनेसासका केन्द्रीय सल्लाहकार प्रतीक ढकालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा संस्थाका पूर्व केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष तथा अनेसास महिला समितिका संयोजक सन्ध्या पहाडी र अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल अतिथिको रूपमा रहनुभएको थियो । नेपाल च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुलीले स्वागत मन्तव्य दिनुभएको सो कार्यक्रमलाई सोही च्याप्टरकै महासचिव रञ्जना निरौलाले निकै कुशलताका साथ सञ्चालन गर्नुभएको थियो ।

प्रमुख अतिथि प्रतीक ढकालले विदेशी प्रकाशकले प्रकाशन गरेका नेपाली साहित्यका कृतिहरुलाई नेपाली स्रष्टा तथा पाठकहरुले पनि किनिदिने चलन गरेमा नेपाली साहित्यको विश्व बजारीकरणमा सहयोग पुग्ने बताउनु भयो ।

सल्लाहकार रोहिणी शर्माले अनेसासको स्थापनाकालदेखिका गतिविधि तथा आफूले अनेसासका लागि गरेका विशेष कार्यका विषयमा बताउँदै नेपाल च्याप्टरले गरिरहेका कार्यक्रमहरुको मुक्त कण्ठले प्रशंसा गर्नुभएको थियो । च्याप्टरका निवर्तमान अध्यक्ष सन्ध्या पहाडीबाट परदेशबाट स्वदेश आएका अनेसास सम्बद्ध स्रष्टाहरुलाई स्वागत/सम्मानको परम्परा रहेको कुरा जानकारी गराउँदै अनेसासमा रोहिणी शर्मा र लालगोपाल सुवेदीको अहं भूमिका रहेको बताउनु भयो । त्यसैगरी विशिष्ट अतिथि पूर्व अध्यक्ष राधेश्याम लेकालीले अनेसास केन्द्र र बोर्ड अफ ट्रष्टिको भूमिकाको विषयमा प्रष्ट पार्दै नेपाल च्याप्टरको विगतदेखि वर्तमानसम्मको अवस्थाका बारेमा जानकारी दिँदै शर्मा र सुवेदीले अनेसास एवं नेपाली साहित्यमा गरेका योगदानको चर्चा गर्नुभएको थियो ।

सम्मानित व्यक्ति लालगोपाल सुवेदीले मन्तव्यका क्रममा नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका लागि अनुवाद मात्र नभएर नेपाली साहित्यमा अन्य भाषाका समेत कृतिहरु आउनुपर्ने र त्यसलाई मान्यता दिनुपर्ने बताउनु भयो । समापन मन्तव्यको क्रममा कार्यक्रमका सभापति राजेन्द्र केसीले आफूलाई सुम्पिएको नेपाल च्याप्टरको नेतृत्वकाललाई उदाहरणीय बनाउने कुराको प्रतिबद्धता जाहेर गर्दै सब‌ैको सहयोगको लागि आह्वान गर्नुभयो ।