सन्तोष श्रेष्ठलाई ‘पाठक कला सङ्गीत सम्मान’


विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठलाई ‘देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च’ दाङले `पाठक कला सङ्गीत सम्मान- २०७९´ द्वारा सम्मान गरेको छ । नेपाली गीत-सङ्गीतको विकास र विस्तारको लागि निरन्तर अगाडि बढिरहेका सङ्गीतकार श्रेष्ठलाई मञ्चले आफ्नो १३औँ वार्षिकोत्सवको अवसरमा सम्मानपत्र र नगदसहित सम्मान गरेको हो ।

अन्तर्राष्ट्रिय पचास भाषाका गीतलाई सङ्गीतबद्ध गरेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’बाट विश्व कीर्तिमानी सङ्गीतकारको प्रमाणपत्र प्राप्त गरेका श्रेष्ठले गीत-सङ्गीत र साहित्यलाई थप उचाइमा पुर्‍याउनका लागि अनवरत रुपमा उल्लेख्य योगदान दिएको भन्दै सम्मान गरिएको कुरा मञ्चले जनाएको छ ।

देवराज पाठकद्वारा साङ्गीतिक क्षेत्रमा क्रियाशील प्रतिभालाई हौसला बढाउने उद्देश्यले ‘पाठक कला सङ्गीत सम्मान´ को स्थापना भएको हो l सो सम्मान समर्पण समारोहमा कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृति विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछानेले सङ्गीतकार श्रेष्ठलाई सम्मानपत्र प्रदान गर्दै गीत-सङ्गीतको क्षेत्रमा सङ्गीतकार श्रेष्ठको योदानको प्रशंसा गरेका थिए । आफूले पाएको सम्मानले थप जिम्मेवारी बोध गराएको सङ्गीतकार श्रेष्ठले जानकारी गराएका छन् ।

आफ्नो एकल सङ्गीतमा त्रिचालीस अल्बम सार्वजनिक गरिसकेका श्रेष्ठले आठसयभन्दा बढी गीतमा सङ्गीत दिएका छन् । उनले आधादर्जन चलचित्रमा सङ्गीत गरेका छन् भने दर्जनौं गीतहरू आफैँले समेत गाएका छन् । `आँसु´ गजल सङ्ग्रह, `अधुरो सपना´ लघुकथासङ्ग्रह प्रकाशन गरिसकेका श्रेष्ठको `फरैना´ शीर्षकको उपन्यास बजारमा चर्चामा रहेको छ ।

आयोजक संस्था देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको नवनिर्मित भवन उद्घाटन सहित दाङका अन्य स्रष्टाहरुलाई समेत सम्मान गरिएको सो कार्यक्रम मञ्चका अध्यक्ष हरि पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो l कार्यक्रमको सहजीकरण केशव शर्मा घिमिरेले गरेका थिए ।