सयपत्री थुलुङको कवितासङ्ग्रह ‘गाउँ फर्किरहेको परदेशी’ को लोकार्पण सम्पन्न

-रोशन पोखरेल

कवयित्री सयपत्री थुलुङको कवितासङ्ग्रह ‘गाउँ फर्किरहेको परदेशी’को काठमाडौमा लोकार्पण सम्पन्न भएको छ । कार्यक्रम सम्भव समूहको आयोजनामा मण्डला थिएटरमा आयोजना भएको थियो l संखुवासभाकी कवयित्री थुलुङ विगत डेढ दशकदेखि साहित्य सिर्जनामा क्रियाशिल छिन् ।

२०७० सालमा ‘शान्तिको फूल’ गजलसङ्ग्रह प्रकाशन गरेकी थुलुङको एक दशक पछि दोश्रो कृतिका रूपमा कवितासङ्ग्रह ‘गाउँ फर्किरहेको परदेशी’ पाठक सामु आएको हो । कार्यक्रममा कवि ज्योति जंगल र कवि उत्तम तुम्सा लिम्बूले पुस्तकका बारेमा  आ-आफ्ना भनाई राखेका थिए ।

कवितासङ्ग्रहका बारेमा बोल्दै कवि उत्तम तुम्साले भने, कविता लेखनको आ-आफ्नै पक्ष हुन्छ । गाउँ फर्किरहेको परदेशी अनुभूतिको गर्भबाट निस्किएको एउटा सफा सङ्ग्रह हो । त्यस्तै पुस्तकका बारेमा बोल्दै कवि ज्योति जङ्गलले प्रेमको मसीले लेखिएको यो सङ्ग्रह आशा र आत्मबलको बाटो देखाइरहेको राम्रो पुस्तक बनेको बताइन् । देश प्रेम र राज्यसत्तामाथि शान्ति सौहार्दताको वातावरण बनाई राख्नुपर्ने कृति जिकिर गरिएको उनले औल्याइन् ।

कार्यक्रममा कवि मिथोच र रङ्गकर्मी नुसा लिङ्देनले सङ्ग्रहभित्रका एकएकवटा कविता वाचन गरेका थिए भने कवि स्वयमले एउटा कविता वाचन गर्दै आफूलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिईन् ।