पुस ८ मा लोजिमाको भव्य प्रीमियर हुँदै, राष्ट्रिय-अन्तर्राष्ट्रिय गरी ३ दर्जन बढी स्थानमा विशेष प्रदर्शन हुने निश्चित


सागर सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र लोजिमाको प्रीमियर शो र विशेष प्रदर्शनको मिति एवं स्थान सार्वजनिक भएको छ l प्राप्त जानकारी अनुसार आगामी डिसेम्बर २४ अर्थात् पुस ८ गते सिक्किममा प्रीमियर हुने भएको छ भने ग्राण्ड प्रीमियर पछि ३० भन्दा बढी स्थानमा विशेष प्रदर्शनको हुने निश्चित भईसकेको छ l सार्वजनिक गरिएको जानकारी अनुसार नेपालका विभिन्न स्थानका साथै युके, कोरिया, हङकङ, मलेशिया लगायतका अन्तर्राष्ट्रिय मुलुकहरुमा समेत विशेष प्रदर्शनका मिति तय भईसकेका छन् l ‘चलचित्र केवल मनोरन्जनको लागि मात्र नभएर चेतना र सन्देशका लागि पनि हुनु पर्छ l किनकि समाज रुपान्तरणमा चलचित्रको पनि अहम् भूमिका रहन्छ’ निर्देशक सागर सुब्बा भन्नुहुन्छ l सांस्कृतिक, सामाजिक र प्रेमकथामा आधारित चलचित्र लोजिमामा कथाले माग गरे अनुसार कलाकारहरुको जीवन्त अभिनय रहेको कुरा समेत निर्देशक सुब्बाले बताउनुभएको छ l

पाथीभरा च्यानलको ब्यानरमा निर्माण भएको यस चलचित्रमा बिशेष प्राविधिक सहयोगी निर्देशक बसन्त अधिकारी हुनुहुन्छ भने सम्पादन संजय अधिकारीको, पार्श्व सङ्गीत अशोक लोहरुङ राईको, साउण्ड डिजाइन मानशी किरणको र पोष्टर डिजाइन आइडियल डिजाइनर्सका निर्देशक सुन्दर श्रेष्ठको रहेको छ l सर्वोत्कृष्ट राष्ट्रिय सांस्कृतिक अवार्ड पाउन सफल चलचित्र कुसुमको निर्देशन गरेर चर्चामा आउनुभएका सागर सुब्बाको कथा /निर्देशन रहेको चलचित्र लोजिमा लिम्बू संस्कृतिमा आधारित रहेको छ भने यसको पटकथा/सम्बाद सागर केरुङले लेखेका हुन् । चलचित्रमा बिमला लिम्बूले शीर्ष भूमिकामा जीवन्त अभिनय गरेको कुरा निर्देशक सुब्बाले जानकारी गराउनुभएको छ l

मिस टिन इन्डिया हुँदै मिस टिन युनिभर्सल टप सेभेन सहारा हाङमा लिम्बूले लोजिमा मार्फत नायिकाको रुपमा डेब्यु गर्दै छिन् l चलचित्रमा सहारा हाङमाको जोडीको रुपमा कलाकार रुद्र पाहिमले अभिनय गरेका छन् l गायकको रुपमा आफ्नो परिचय बनाइसक्नुभएका नृत्य र बिभिन्न कार्यक्रम मार्फत आफ्नो बेजोड अभिनयले चर्चित आशाहाङ आङबो पनि यस चलचित्रबाट नायकको रुपमा अगाडि आउनुभएको छ l

चलचित्रमा निर्माता आशाहाङ आङ्बो, कार्यकारी निर्माता पम्फावती राई, मुख्य सहायक निर्देशक दिपक अधिकारी, छायाकार रविन्द्र बराल, शृङ्गार नरेश खरेल, म्युजिक एरेन्जर अशोक लोहरुङ राई रहेको यस चलचित्रमा मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ । चलचित्रको पोस्ट प्रोडक्सन भिजन नेपाल फिल्मस र डबिङ एम. के. प्रोडक्सनमा भएको हो l

चलचित्रका कलाकारहरुमा बिमला खजुम, आशाहाङ आङ्बो, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पाहिम, नुनाम केरुङ, हस्त लिबाङ, साहाराहाङमा पन्धाक लिम्बु, सेरिना राई, बिनि सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा, देवी लिम्बू ज्ञानु खम्दाक आदि रहेका छन् । चलचित्रकी नायिका बिमला लिम्बू भन्छिन्- ‘चलचित्र लोजिमा मार्फत धेरै मिहेनत गरेर केही नयाँ क्रियसनको साथ काम गर्न प्रयास गरेको छौं, आशा छ दर्शकहरुले मन पराउनु हुनेछ ।’