अथाह भावसागरकी खानी अम्बिका गुरुङ

-तुलसी गिरी ‘भावुक’

प्रवासमा बसेर पनि निस्वार्थ भावले नेपाली गीत-सङ्गीत क्षेत्रको विकाश, बिस्तार र प्रवर्धनको लागि उदाहरणीय योगदान दिने नगण्य सर्जकहरुलाई स्मरण गर्दा गीतकार अम्बिका गुरुङको नाम अग्र लहरमा आउने गर्दछ l प्रतिफलको आशा नराखी र नाफा-घाटाको हिसाब नगरी निरन्तर सङ्गीतमा लगानी गरिरहनुभएकी सर्जक अम्बिकाले हालसम्म यस क्षेत्रमा लगभग ७ करोड खर्च गरिसक्नुभएको छ l उहाँका रचनामा करिव ७ सय गीत रेकर्ड भएका छन् भने ती मध्ये २ सय गीतका भिडिओ समेत बजारमा आएका छन् l गीत-सङ्गीतप्रति यति धेरै प्रेम र समर्पण भाव भएका मान्छे संसारमै विरलै मात्र भेटिन्छन् l तथापि नेपालमा उहाँ जस्तो कर्मयोगीको कतैबाट उचित मूल्याङ्कन भने भएको पाइँदैन l पछिल्लो दशकमा बढी क्रियाशील रहनुभएकी शालीन गीतकार अम्बिका गुरुङ सम्भवत: एक दशकमा सबैभन्दा बढी गीत रेकर्ड गराउने नेपाली सर्जकमा पर्नुहुन्छ l

गीतकार अम्बिका भन्नुहुन्छ-‘आफ्ना सिर्जना फरक स्वरूपमा कर्णप्रिय भएर सबैसामु आउँदा मलाई जुन सन्तुष्टि मिल्छ त्यो शब्दमा बयान गर्न सकिन्न l आफ्ना रचनाले नयाँ जीवन पाउँदाको असिम आनन्द यति धेरै छ कि मैले गीत-सङ्गीतमा गरेको लागानीको नाफा-घाटा कहिल्यै हिसाब गरिनँ l यो मेरो आफ्नै लगानी हो l मैले अरुलाई दु:खी बनाएर या पारिवारिक दायित्व बिर्सेर लगानी गरेकी छैन l आफ्नो कर्मप्रति म खुशी छु र कसैप्रति पनि गुनाशो छैन l’ 

 तीन दशक अघिदेखि अमेरिकालाई कर्मथलो बनाईरहनुभएकी विशिष्ट गीतकार अम्बिका गुरुङले यसपटकको नेपाल बसाईमा ५ वटा नयाँ गीत रेकर्ड गर्नुभयो भने उहाँका एकल रचनाका दुई गीति एल्बम ‘भाव’ र ‘अनुपम यात्रा’ को लोकार्पण पनि भएको छ l   जसमा लोकप्रिय सङ्गीतकार शंकर थापा ‘स्माइल’ ले एकल सङ्गीत दिनुभएको छ l दुबै एल्बममा गरी १८ जना प्रतिभाशाली गायक/गायिकाहरुको स्वरमा रहेका कूल १९ गीत सङ्ग्रहित छन् l जसमध्ये ५ वटा गीतका भिडिओ समेत लोकार्पण समारोहमा प्रदर्शन गरिएको थियो l सबै म्युजिक भिडिओ गीतकार अम्बिकाकै अफिसियल युट्युब च्यानल Bhavsagar Entertainment LLC मा हेर्न सकिने छ l

सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजित बाँसकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहमा गीत-सङ्गीत क्षेत्रसँग सम्बन्धित सङ्घसंस्थाका अध्यक्ष एवं लोकप्रिय सर्जक/कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो l समारोहमा प्रमुख अतिथि बाँसकोटाले अम्बिका गुरुङलाई आफूले एक त्यागी गीतकारको रुपमा चिनेको बताउनुभएको थियो l

गीत-सङ्गीतको प्रवर्धनकै लागि भनेर अमेरिकामा Bhavsagar Entertainment LLC नामको कम्पनी दर्ता गरी सोही कम्पनी मार्फत उहाँले काम गर्दै आउनुभएको छ । जस अन्तर्गत बाल गीतको लागि Bhavsagar Creations र अन्य गीतका लागि Bhavsagar Entertainment LLC नामक दुई छुट्टाछुट्टै युट्युब च्यानल समेत खोल्नुभएको छ l दर्शक-श्रोतामाझ यी दुई युट्युब च्यानल मार्फत आफ्ना सिर्जनाहरु पस्किरहनुभएकी सर्जक अम्बिकाको साहित्यिक र साङ्गीतिक यात्राको नयाँ अध्याय सुरु हुनुमा नाताले ज्वाईं पर्ने सङ्गीतकर्मी प्रकाश लेप्चा र भदैनी दिप्ती प्रतिभा गुरुङको ठूलो भूमिका रहेको छ l

सर्जक अम्बिकाले फेसबुकमा पोष्ट गर्ने गरेका कविताहरुलाई सङ्ग्रहित गरी पुस्तक निकाल्ने सल्लाह दिप्तीले नदिएको भए अनि सोही कविताको पुस्तक हेरेर प्रकाशले गीत बन्छ भन्ने भरोसा नदिलाएको भए गीतकार अम्बिका गुरुङको साहित्यिक पहिचान सायद आज फरक किसिमको हुन्थ्योहोला l दिप्तीकै सल्लाह र सहयोगमा सन् २०१५ मा कवयित्री अम्बिकाको कवितासङ्ग्रह ‘भावसागर’ भाग-१ प्रकाशित भयो भने सन् २०१६ मा भाग-२ पनि बजारमा आएको थियो l सोही कविताको पुस्तकबाट छनोट गरिएका कवितालाई गीति स्वरूप दिएर प्रकाश लेप्चाको एकल सङ्गीतमा पहिलोपटक उहाँले ‘भावसागर’ शीर्षकको गीतिएल्बम प्रकाशन गर्नुभयो l त्यसपछि ‘भावसागर’ गीति एल्बमको पाँचौं शृङ्खलासम्म प्रकाशन भएका छन् l          

पिता वीरबहादुर गुरुङ र माता कृष्णकुमारी गुरुङको सातौं सन्तानको रूपमा वि.सं. २०१४, मङ्सिर ७ गते दोलखाको चरिकोटमा जन्मिनुभएकी अम्बिका गुरुङ कलिलै उमेरदेखि नै साहित्य र सङ्गीतप्रति गहिरो अभिरुची राख्नुहुन्थ्यो l २०३५ सालमा पहिलोपटक उहाँको ‘चेतना’ नामक पत्रिकामा ‘बिडम्बना’ शीर्षकको रचना प्रकाशित भएको थियो l त्यसपछि गोरखापत्र लगायतका पत्र पत्रिकामा फरक फरक विधाका साहित्यिक रचनाहरु नियमित प्रकाशन हुन थालेका थिए l करिव १३ वर्षसम्म सरकारी सेवामा र केही वर्ष यातायात व्यावसायीको रुपमा क्रियाशील रहे पश्चात वि. सं.२०५० सालमा सपरिवार अमेरिका प्रस्थान गर्नुभएकी सर्जक अम्बिकाले अमेरिका प्रवेशपछिको लगभग १५ वर्ष जति साहित्यिक सिर्जना खासै गर्नुभएन l यदाकदा रचना गरेका कविता पनि डायरीका पानामै सीमित थिए l फेसबुकमा अरुले सिर्जनाहरु पोष्ट गरेको देखेर कविता पोष्ट गर्न थाल्नुभएकी अम्बिकालाई थाहै नपाई कविता पोष्ट गर्ने लत नै बस्यो l जुन कुरा जगदम्बा प्रेस, काठमाण्डौमा कार्यरत भदैनी दिप्तीले नियालिरहेकी थिईन् l दिप्तीकै सल्लाह अनुसार ‘भावसागर’ कवितासङ्ग्रह प्रकाशन भयो र त्यहीँबाट अम्बिकाको साहित्यिक यात्राले नयाँ मोड लिएको हो l

कुनै समय रेडियो नेपालबाट गीतिकथा समेत प्रसारण भईरहने कथाकार अम्बिका अर्को एउटा सुखद् प्रसङ्ग स्मरण गर्दै भन्नुहुन्छ-‘मलाई धेरै सुझाव दिईरहने म्युजिक एरेन्जर सुमन के.सी. को स्वर राम्रो भएको कुरा मैले थाहा पाएँ l खै किन हो उहाँले गीत गाउने कुरामा त्यति चासो राख्नुभएको रहेनछ l मेरै आग्रहमा उहाँले गीत गाउनुभयो l गीत धेरैले मन पराएपछि लगातार अरु पनि गाउँदै जानुभयो l गर्दै जाँदा यस्तो समय आयो, मेरा सबैभन्दा बढी लोकप्रिय गीत नै सुमनको स्वरमा छन् l विदेशमा बसेर नेपालमा गीत रेकर्ड र म्युजिक भिडिओ निर्माण गर्दा अनेक प्रकारका झन्झटहरुको सामना गर्नुपर्ने हुन्छ l पछिल्ला केहीवर्ष यता वरिष्ठ भिडिओ निर्देशक तथा सम्पादक निशान बाबु घिमिरे र लोकप्रिय गायक सुमन केसीको मार्ग  निर्देशनले गर्दा यी तमाम व्यवस्थापनमा सहजता भएको अनुभव गीतकार गुरुङ सुनाउनुहुन्छ l

वसन्त सापकोटा, हरि लम्साल, अर्जुन पोख्रेल, दीपक शर्मा, न्ह्यु बज्राचार्य, शंकर थापा ‘स्माइल’, सरोज पोखरेल, कल्याण सिंह, राजन खतिवडा, सुवास भुसाल लगायतका सङ्गीतकार, अञ्जु पन्त, सत्य-स्वरूप आचार्य, रामकृष्ण ढकाल, राजेशपायल राई, दीपक लिम्बू, सुमन केसी, मिलन नेवार, मेलिना राई किरण भुजेल, कृष्ण काफ्ले, निशान भट्टराई, वीरेन्द्र श्रेष्ठ लगायतका गायक गायिका र अनिशा क्षेत्री (युएसए), सुरेश दर्पण पोखरेल (युएसए), निशान बाबु घिमिरे, सान थापा, अर्जुन अधिकारी, समन अधिकारी लगायतका दर्जनौं  म्युजिक भिडिओ निर्देशकहरुसँग सहकार्य गर्नुभएकी अम्बिका सर्जक/कलाकारको उचित पारिश्रमिकप्रति पनि संवेदनशील हुनुहुन्छ l  ‘काम अनुसारको पारिश्रमिक दिन पाउँदा खुशी लाग्छ’ उहाँ भन्नुहुन्छ l

परोपकारी भावानाकी कवि, कथाकार एवं गीतकार अम्बिका गुरुङको सत्कर्मको पछाडि उहाँका पति बुद्धि बहादुर गुरुङको पनि उत्तिकै साथ सहयोग रहँदै आएको छ l अमेरिका र नेपालका दर्जनौं सामाजिक र साहित्यिक सङ्घ संस्थाहरुमा आजीवन एवं  मानार्थ सदस्य तथा सल्लाहकारका साथै अनेसास ट्रष्टी सदस्यको रुपमा आवद्ध रही आफ्नो महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहनुभएकी सर्जक अम्बिकाले समस्यामा परेका कैयौं नेपालीहरुलाई सहयोग गर्दै आउनुभएको छ l ‘कति माया, ह्याप्पी बर्थ डे, जूनजस्तो शीतल, नजिक आए हुन्छ, मखमली चोलीमा रेशमी सारी, बा, मेरी आमा, झुम्का, दिल चोर्ने माकुरी, डोली सजाई, आऊ न माया, जून ल्याउँछु, दिलको नाता, कारण तिमी, तिम्रो कसम, यो जिन्दगी, चाखुम चाखुम, खोलूँ आँखा, सिरिरी बतास, आदत, भुल्न सकिनँ, मायामा परें म, तिमी मेरो जीवनमा’ जस्ता लोकप्रिय गीतकी सर्जक, नरित्तिने भावसागरकी खानी अम्बिका गुरुङ जस्ता त्यागी गीतकारकै कारण नेपाली सङ्गीत क्षेत्र चलायमान भईरहेको कुरा कसैले पनि नकार्न सक्दैन l