वियोगान्त प्रेमकथामा आर. के., अनुजा र मिशेल घिमिरे

-तुलसी गिरी ‘भावुक’

अत्यन्तै राम्रो सम्भावना भएकी कलाकार मिशेल घिमिरे अभिनित म्युजिक भिडिओ ‘थोपा’ रिलिज भएको छ l Nagendra Shrestha नामक युट्युब च्यानलबाट एकदिन अघि सो भिडिओ डिजिटल बजारमा आएको हो l भिडिओमा आर.के. परियार, अनुजा सिंह र मिशेलको अभिनय रहेको छ l त्रिकोणात्मक प्रेमकथामा आधारित वियोगान्त भावको यस म्युजिक भिडिओमा पुरुषद्वारा भएको विश्वासघात र धोकालाई प्रस्तुत गरिएको छ l वर्तमान युवा पिंढीमाझ अक्सर घटिरहने घटनाको प्रतिबिम्बको रुपमा आएको यस म्युजिक भिडिओले प्रेम, यौन सम्बन्ध र त्यसबाट उत्पन्न दुष्परिणामलाई समेत उजागर पारेको छ l भिडिओ सन्देशमूलक रहेको छ l

‘थोपा’ शीर्षकको यो गीत नवीन श्रेष्ठले रचना गरेका हुन् भने नगेन्द्र श्रेष्ठको सङ्गीत र राहुल प्रधानको सङ्गीत संयोजन रहेको छ l गौरव गिरीको निर्देशनमा छायाङ्कन भएको यो म्युजिक भिडिओका सिनेमाटोग्राफर सन्तोष तामाङ र सम्पादक भद्र जंग कुँवर हुन् l भिडिओ केहीदिन अघि सुदूरपश्चिमका बझाङ, खप्तड र अछामका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको कुरा निर्देशक गौरव गिरीले जानकारी गराएका छन् l

नेपाली सङ्गीत र म्युजिक भिडिओ मोडलिङको क्षेत्रमा मिशेल घिमिरे नयाँ नाम भएपनि उनलाई अत्यन्तै राम्रो सम्भावना भएकी प्रतिभाको रुपमा चिन्न सकिन्छ l गायन र म्युजिक भिडिओ मोडलिङमा परिचित हुने उनको प्रमुख लक्ष्य हो l सुन्दर तनकी धनी मिशेल एक बलियो आत्मविश्वास, जुझारु र मेहेनती स्वभावकी युवती हुन् l केहीदिन अघि मात्र उनीद्वारा अभिनित हिन्दी गीत ‘गम’ को भिडिओ सार्वजनिक भएको थियो l