दीपेन्द्र र साहसको सहकार्यमा दसैँ तिहार गीत ‘फर्किन्छु यसपालि´

-प्रकाश सुवेदी

दसैँको अवसर पारि प्रवासमा रहेर गीत लेखनमा सक्रीय दीपेन्द्र अधिकारीको शब्दमा `फर्किन्छु यसपाली´ बोलको गीत डिए क्रियसन युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । सङ्गीतसंयोजकका रूपमा ख्यातिप्राप्त साहस शाक्यको सङ्गीत र स्वरमा उक्त गीत तयार गरिएको हो । गीतमा गीतकार एउटा परदेशीको रूपमा प्रस्तुत हुँदै आफ्नो बाल्यकाल, गाउँ, परिवेश, बालसखाहरुलाई सम्झिँदै नोस्टाल्जिक टोनमा प्रस्तुत हुनुभएको छ ।

दीपेन्द्रले कास्की जिल्लाको दक्षिणी भू-भागमा पर्ने आफ्नो जन्मस्थल गैह्री गाउँ, सानो छँदा आफूले पौडिन र माछा मार्न सिकेको सुरौदी खोला र डाँडाबाट देखिने अन्नपूर्ण, माछापुछ्रे र धौलागिरिको मनोरम दृष्यलाई समेत स्मरण गर्नुभएको छ । मैदानको लिङ्गे पिङ्, तिहारको देउसी भैलो, शरद ऋतुमा टलक्क टल्किने हिमालहरु सम्झँदा दीपेन्द्रलाई भर्खरै चिलगाडी चढेर गाउँमा फर्किन मन लाग्छ । गीतकारले जस्तै आफ्नो जन्मभूमि र प्रकृतिलाई मन-मस्तिष्कमा सजाईरहेका तमाम प्रवासीहरुको कथा व्यथा बोकेको यस गीतलाई गायक तथा सङ्गीतकार साहसले पूर्ण न्याय दिने प्रयास गर्नुभएको छ ।

मूल पेशा सङ्गीतसंयोजन रोजेर लगभग २ दशकदेखि नेपाली गीतसङ्गीत क्षेत्रमा क्रियाशील साहसले कोरोना कहरका समयमा आफ्नै सङ्गीतमा गाउनुभएको `मेरो विश्व मेरो घर´ बोलको गीत निकै चर्चामा थियो । प्रकृतिसँग अति रमाउन खोज्ने दीपेन्द्रले यस अगाडि पनि जीवनको रेल, मनमोहक पोखरा, चुलबुल  चुलबुल, प्यारी भाञ्जी, नेपालकी छोरी सहित आधा दर्जनको सङ्ख्यमा गीत बजारमा ल्याईसक्नुभएको छ ।

स्वदेशमा फेरि दसैँ तिहार आउन थाल्यो
बस्ति बस्ति उमङ्गको लहर छाउन थाल्यो
परदेशबाट परदेशीका ताँती लाउँदै होलान्
मीठो सूरमा गाइने दाइले गीत गाउँदै होलान्
हातैमा टीका जमरा थाली फर्किन्छु आमा पक्कै यसपाली

मनको बह बिसाउने प्यारो गैह्रीगाउँ
हाँस्दै खेल्दै बालपन बिताएको ठाउँ
दसैँ आउँदा आकाशतिरै उड्न खोज्छ मन
तिहारको देउसी भैलो सम्झिरहन्छु झन
आँगनको डिलैमा फूल मखमली फर्किन्छु दिदी पक्कै यसपालि

मैदानमा लिङ्गे पीङ चङ्गा डाँडामाथि
सङ्गै भेट्न पाइन्छ सबै छरिएका साथी
आँख‌ैभरि हिमालहरु छाउँछन् झललल
सुरौदीले गीत गाउँछिन् गर्दै कलकल
खेल्न है अब देउसी र भैली फर्किन्छु साथी पक्कै यसपालि