आफ्नै शब्द, सङ्गीत र स्वरमा परदेशीका पीडा पोख्दै ज्योतिप्रकाश

-तुलसी गिरी ‘भावुक’

बहुआयामिक सर्जक ज्योतिप्रकाशले आफ्नै शब्द, सङ्गीत र स्वरमा समय सापेक्ष भावको गीत ‘परदेशीको दशैं’ को भिडिओ सार्वजनिक गरेका छन् l विष्णु अधिकारीको सङ्गीत संयोजन रहेको यो गीत विप्लव अधिकारीले मिक्सिङ गरेका हुन् l चित्रकारिताको क्षेत्रमा समेत उच्च ख्याति भएका सर्जक ज्योतिप्रकाश गीत-सङ्गीत क्षेत्रमा विशेषगरि सङ्गीतकारको रुपमा बढी लोकप्रिय रहेपनि अन्य विधामा पनि उनी त्यत्तिकै क्रियाशील रहँदै आएका छन् l

‘परदेशीको दशैं’ को भिडिओ लोकप्रिय गीतकार समेत रहेका   कला पत्रकार सुमन बैरागीको निर्देशनमा छायाङ्कन भएको हो l भिडिओमा विशिष्ट कलाकार मोहन निरौलाका साथै विद्या कार्की, सनम कठायत र श्री राणाको अभिनय रहेको छ l गोविन्द अन्जानको छायाङ्कन र वीरेन्द्र भाट ‘विपिन’ को सम्पादनमा तयार भएको यो भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्समा निर्माण भएको हो l

के गाउँ के शहर लाखौँ नेपालीहरुको घर घरको कथा बोकेको यस म्युजिक भिडिओले चाडबाडका बेला आफ्ना सन्तान परदेशबाट घर फर्कलान् भनेर बाटो हेरिरहेका बाबुआमा र बिदा नपाएर घर फर्कन नसकेका परदेशीहरुको पीडा पोखेको छ l खासगरि वैदेशिक रोजगारीमा गएका युवाहरुको नियति छर्लङ्ग पार्ने यो गीत तथा भिडिओले समग्र नेपालीहरुको दिनानुदिन बिग्रदो भविष्य र दुर्भाग्यलाई मर्मस्पर्शी ढङ्गमा प्रस्तुत गरेको छ l