एकैपटक तीनवटा म्युजिक भिडिओमा मिशेल

-तुलसी गिरी ‘भावुक’

म्युजिक भिडिओ मोडलिङ्मा स्थापित हुने बलियो आत्मविश्वास र लक्ष्य बोकेर अघि बढेकी उदियमान प्रतिभा मिशेल घिमिरे हालै एकैपटक तीनवटा म्युजिक भिडिओमा अभिनय गरेर राजधानी फर्किएकी छिन् l सुदूर क्षेत्रका बझाङ, खप्तड र अछामका विभिन्न रमणीय स्थानमा करिव १० दिनसम्म म्युजिक भिडिओको छायाङ्कन भएको कुरा उनले emusicdiary.com लाई जानकारी गराएकी छिन् l केही समय अघि मात्र मिशेल लोकप्रिय साङ्गीतिक पत्रिका ‘म्युजिक डायरी’ को आवरण पृष्ठमा आएकी थिईन् l

नेपाली सङ्गीत र म्युजिक भिडिओ मोडलिङको क्षेत्रमा मिशेल घिमिरे नयाँ नाम भएपनि उनलाई अत्यन्तै राम्रो सम्भावना भएकी प्रतिभाको रुपमा चिन्न सकिन्छ l गायन र म्युजिक भिडिओ मोडलिङमा परिचित हुने उनको प्रमुख लक्ष्य हो l सुन्दर तनकी धनी मिशेल एक बलियो आत्मविश्वास, जुझारु र मेहेनती स्वभावकी युवती हुन् l

हात्तीवन, ललितपुर निवासी पिता महेन्द्र प्रसाद घिमिरे र माता सपथ घिमिरेको परिवारमा आजभन्दा २५ वर्ष अघि दोस्रो सन्तानको रुपमा जन्म लिएकी मिशेल एक दाजु मनिष घिमिरेकी एक्ली बहिनी पनि हुन् l बाल्यकालदेखि नै कला-सङ्गीतप्रति अनन्य झुकाव भएकी उनले कलानिधि इन्दिरा सङ्गीत महाविद्यालय, ललितपुरमा एक वर्षसम्म पूर्वीय तथा पाश्चात्य सङ्गीत सिकेकी छिन् l विशेषगरि पप गायनप्रति उनको अलि बढी झुकाव रहेको छ l ‘गुरुहरु, साथीभाइ र आफन्तहरुबाट राम्रै प्रतिक्रिया पाईरहेकी छु l अब छिट्टै गीत पनि  रेकर्ड गर्ने विचार छ’ उनले भविष्यको योजनाबारे खुलस्त पारिन् l
 
प्राप्त समाचार अनुसार स्टोरी डाइरेक्टर गौरव गिरी ‘गणेश’ को नेत्तृत्वमा सुदूरपश्चिम गएको सो शुटिङ युनिटमा सिनेमाटोग्राफर वसन्त कुँवर र सन्तोष योञ्जन, व्यवस्थापक भद्रजङ कुँवर, कलाकारहरु मिशेल घिमेरे, आर. के. परियार र अनुजा सिंह, मेक-अप पर्सन रोनिशा श्रेष्ठ र रोहित देउबा गरी ९ जना रहेका थिए l आयुष्मानको शब्द, नागेन्द्र श्रेष्ठको सङ्गीत र अञ्जु पन्तको स्वरमा रहेको हिन्दी गीत ‘गम’ मा आर. के. परियारको साथमा मिशेलले लिड रोलमा अभिनय गरेकी छिन् भने रचना रिमालको स्वरमा रहेको अर्को गीत ‘फूल दिन्थ्यौ दिनदिनै’ र समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘धोका’ मा चाहिँ मिशेल, आर. के. र अनुजा सिंहले संयुक्त अभिनय गरेको कुरा स्टोरी डाइरेक्टर गौरवले जानकारी गराएका छन् l काठमाण्डौ फर्कनासाथ भद्रजङ कुँवरले सम्पादन कार्य आरम्भ गरिसकेको र उपयुक्त समय हेरि क्रमैसँग तीनवटै भिडिओ रिलिज गरिने कुरा निर्देशक गौरवले बताए l ‘नयाँ कलाकार भए पनि मिशेलको अभिनय क्षमताबाट म निकै प्रभावित भएको छु l उनको म्युजिक भिडिओ मोडलिङको यात्राले भविष्यमा शिखर चुम्ने छ भन्ने कुरामा म विश्वस्त छु’ निर्देशक गिरीले भने l

# फोटो: शिवलाल श्रेष्ठ, तस्बीर स्टुडियो, बागबजार (९८४१२१२८९७)