अनेसास कविता महोत्सवमा जगन्नाथ र ऋषवदेव सहित ५ जना पुरष्कृत


राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर विश्वभर छरिएर रहेका नेपालीहरुको साझा साहित्यिक संस्था `अन्तर्राष्ट्रिय नेपाली समाज´ ले `अनेसास कविता महोत्सव २०२३´ प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरेको छ । अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सभापतिका रूपमा अनेसास केन्द्रका अध्यक्ष गोबर्द्धन पूजा रहनुभएको थियो । कार्यक्रममा अनेसास बिओटी सभापति पदम विश्वकर्माद्वारा शुभकामना व्यक्त र संस्थाका सल्लाहकार प्रतीक ढकालद्वारा राष्ट्रकवि घिमिरेको साहित्यिक योगदानका बारेमा चर्चा गरिएको थियो ।

यही असोज ७ गते सम्पन्न भएको सो कार्यक्रममा राष्ट्रकवि घिमिरेका छोरीद्वय ज्योति पौडेल र शान्ति घिमिरेका साथै अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, डा. रेणुका सोलु, महासचिव विमला निरौला, सदस्य तारा अधिकारी लगायातले मन्तव्य दिनुभएको थियो । जुम प्रविधि मार्फत सम्पन्न गरिएको यस प्रतियोगितामा अमेरिकाको भर्जिनिया निवासी जगन्नाथ पौडेल प्रथम, ललितपुर, नेपालका ऋषभदेव घिमिरे द्वितीय र क्रमश: आनन्द श्रेष्ठ ( न्यूजर्सी, अमेरिका) , मदन घिमिरे ( कास्की, नेपाल) र सुमन शिरिष (सिन्धुपाल्चोक) ले तृतीय स्थान प्राप्त गर्नुभएको छ । ३०१ जना कविहरु सहभागी रहेको सो प्रतियोगितामा उत्कृष्ट ७६ जनाले रचना वाचन गर्नुभएको थियो । साहित्यकार वियोगी बुढाथोकी, रोशन थापा `नीरव´ र सुस्मिता नेपाल निर्णायकका रुपमा रहनुभएको थियो । कार्यक्रमको पुरस्कार रकम भने क्रमशः तीर्थ पाण्डे, ईश्वरी भट्ट, तीर्थराज अधिकारी, नेत्रवन्धु पोखरेल र सम्झना अर्यालले प्रायोजन गर्नुभएको थियो ।