सत्कर्मको सन्देश छर्दै गीतकार दिलिप योञ्जन

-तुलसी गिरी ‘भावुक’

परोपकारी गीतकार दिलिप योञ्जन तामाङको रचना, राजेश थापाको सङ्गीत र प्रवीण बेडवालको स्वरमा रहेको आध्यात्मिक भावको गीत ‘खाली हात आयौं हामी’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ Astha Media Co Ltd नामक युट्युब च्यानलबाट २ दिन अघि डिजिटल बजारमा आएको हो l राजु कार्कीको म्युजिक एरेन्ज रहेको यो गीत स्टुडियो किङ्सका साउण्ड इन्जिनियर सुरेश राईले रेकर्डिङ, मिक्सिङ र माष्टरिङ गरेका गरेका हुन् l गीतको भिडिओ विनोद बमको ग्राफिक्स एवं सम्पादनमा तयार भएको हो l प्रस्तुत गीत गीतकार योञ्जनको एकल रचनामा केही हप्ता अघि मात्र रिलिज भएको गीति एल्बम   ‘आमा मेरी आमा’ मा समावेश रहेको छ l  

गीतले नैतिकता, इमान्दारिता, दया, करुणा र सेवाभावलाई एकातिर पन्छाएर फगत पैसाको पछि मात्र दगुरिरहेका तमाम मान्छेहरुलाई जीवनको शाश्वत यथार्थ मनन् गराउने प्रयास गरेको छ l खाली हात आयौं खाली हात नै जानु छ l यहाँ अजम्बरी कोही छैन l सत्कर्म गरौँ, जीवन सुख-दु:खको सङ्गम हो, त्यसैमा रमेर बाँच्न सिकौं, गीतले भनेको छ l

लामो समयदेखि अमेरिका बस्दै आएका गीतकार योञ्जनले नेपालमा घट्ने गरेका प्राकृतिक विपत्तिको समयमा आर्थिक सहयोग समेत गर्दै आएका छन् l लामो समय अघिदेखि नर्सिङ छात्रवृत्ति लगायत स्कूल र कलेजका गरी करिव ५ दर्जन विद्यार्थीहरुलाई उनले व्यक्तिगत रुपमै पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएका छन् l विदेशमा बसे पनि सधैं नेपाल र नेपालीको भलाईका लागि चिन्तन मात्र नगरी आफ्नो कमाईको ठूलो हिस्सा आपत-बिपतमा परेका र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुका लागि खर्च गरिरहने साहित्यकार दिलिप योञ्जन तामाङलाई एक प्रेरक र उदाहराणीय व्यक्तिको रुपमा चिन्ने गरिन्छ l