इन्स्टाग्राममा ‘बादल वर्षा बिजुली’ को कीर्तिमान, बलिउडका गीतलाई समेत उछिन्यो l


‘बादल वर्षा बिजुली’ इन्स्टाग्राममा सर्वाधिक रिल बनाइने गीत बनेको छ । सोसल मिडिया एनालिटिक्स दास हड्सनका अनुसार यो गीतलाई लिएर इन्स्टाग्राममा मात्र ४.१ मिलियन (४१ लाख) पटक रिल बनाइएको छ । सुपरहिट मानिएका भारतीय गीतले समेत लोकप्रियताको यो उचाई विरलै चुम्ने गरेका छन् l यो सफलताले नेपाली गीत-सङ्गीतलाई विश्वव्यापी बनाउनका लागि अहम् भूमिका निर्वाह गरेको कुरा सङ्गीतकर्मीहरु बताउँछन् l इन्स्टाग्राममा ४.१ मिलियन भन्दा बढी, फेसबुक रिल्समा १.५ मिलियन भन्दा बढी, टिकटकमा १.२ मिलियन भन्दा बढी र युट्युबमा हजारौंको संख्यामा कभर डान्स भिडिओ बनेको यो गीतको सफलता झट्ट सुन्दा धेरैलाई एउटा काल्पनिक कहानी जस्तै लाग्न सक्छ l ‘यो सफलता समग्र नेपालीहरुकै लागि गर्वको विषय हो’ साईराम पिक्चर्सका प्रवन्ध निर्देशक सम्शेर श्रेष्ठले ईम्युजिकडायरीलाई बताए l  

 यो तथ्यांक सेप्टेम्बरसम्मको रहेको गीतका रचनाकार करुण थापाले जानकारी दिएका छन् । टिकटकमा मात्र ८ लाख ५० हजार भन्दा बढी  भिडिओ बनाइएको छ । ‘युट्युब सर्ट्स र अन्य सामाजिक सञ्जालको कुनै गन्ती नै छैन,’ गीतकार थापाले भने ।

तर उक्त एनालिटिक्स प्लेटफर्म दास हड्सनले ‘बादल वर्षा बिजुली’भन्दा कम संख्या प्राप्त गरेको ह्यारी स्टाइलको गीत ‘एज इट् वाज’लाई शीर्ष स्थानमा राखेको छ । जब कि ह्यारी स्टाइलको उक्त गीतको इन्स्टाग्राममा रिल बन्ने संख्या ३.४ मिलियन (३४ लाख) मात्र रहेको भनिएको छ ।

बढी संख्या प्राप्त गर्ने बादल वर्षा बिजुलीलाई शीर्ष स्थानमा राख्नको लागि रचनाकार करुण थापाले उक्त एजेन्सीको ध्यानाकर्षण गराएको कुरा समेत बताएका छन् । ‘कम संख्या पाउने शीर्षस्थानमा, सबैभन्दा धेरै पाउने तल । यो उचित देखिएन र ध्यानाकर्षण गराएको छु,’ उनले भने ।

आनन्द कार्की र प्राश्ना शाक्यको स्वर रहेको यस गीतमा सचिन सिंहको सङ्गीत रहेको छ । चलचित्र ‘कर्तव्य’ को यस गीतमा दिलीप रायमाझी र सज्जा मैनालीले नृत्य गरेका छन् भने पुनः रेकर्ड गरेर गत जेठमा भिडिओ सार्वजनिक गरेपछि गीत रातारात टिकटकमा भाइरल बनेको हो । यस गीतको अन्तर्राष्ट्रिय जगतमा समेत अनगिन्ती नेपाली एवं विदेशीहरुले टिकटक भिडिओ बनाएका छन् ।