‘दशौं छायाछवि तिज म्युजिक अवार्ड-२०८०’ भव्य रुपमा सम्पन्न, चार महिलालाई नारी सम्मान


‘दशौं छायाछवि तिज म्युजिक अवार्ड-२०८०’ भव्य रुपमा सम्पन्न भएको छ । बिगत १० बर्षदेखि आयोजना हुँदै आएको छायाछवि तीज म्युजिक अवार्ड शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको हो । तारकेश्वर नगरपालिका उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा वरिष्ठ चलचित्र अभिनेत्रीद्वय बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, गीतकार भरत बम्जन, सङ्गीतकार सन्तोष श्रेष्ठ, चलचित्र निर्माता तथा वितरक गोपालकाजी कायस्थ, सङ्गीतकार तथा चित्रकार ज्योति प्रकाश, कलाकार श्रीदेव भट्टराई, सानिया खान, लिगेश भट्टराई, सामना शाह लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा लामो समयदेखि विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिएका चारजना महिलाहरुलाई ‘छायाछवि तिज नारी सम्मान’ प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा चलचित्र अभिनेत्री रश्मी भट्ट, सञ्चारकर्मी कमला जोशी, गीतकार/सञ्चारकर्मी कृष्णदेवी आचार्य ‘रोशनी’ र सञ्चारकर्मी सवी कार्की खड्का रहेका छन् ।

छायाछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले विशेषगरी नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर आयोजना गरिदै आएको छायाछवि तीज म्युजिक अवार्डका माध्यमबाट कलाकारहरुलाई प्रोत्साहन स्वरुप कार्यक्रमको आयोजना गरिएको बताए । उनले विकृति विसंगति रोक्दै हाम्रो आफ्नै मौलिक परम्परा जोगाउने किसिमका गीत-सङ्गीतहरु नेपाली दर्शक तथा श्रोताहरु माझ पस्कने कलाकारहरुलाई थप उर्जा मिलोस भन्ने उद्देश्य लिएर विगत दश वर्षदेखि निरन्तर रुपमा यो अवार्डको आयोजना हुँदै आएको बताए ।

कार्यक्रममा प्रमुख अतिथि रहेकी उपमेयर सिर्जना बुर्लाकोटी अर्यालले तारकेश्वर नगरपालिकाले पनि आगामी दिनमा कलाकारहरुलाई प्रोत्साहन गर्नको लागि विभिन्न किसिमका कार्यक्रमहरु ल्याउने तयारी भईरहेको बताईन् l तीज नेपाली नारीहरुको मौलिक चाड भएकोले यसको महत्व अन्य चाडहरुको भन्दा फरक रहेको भन्दै आफ्नो परम्परालाई जोगाउन तथा निरन्तरता दिनको लागि आ-आफ्नो हैसियत अनुसार भड्किलो नबनाई मनाउन सम्पूर्ण महिला दिदीबहिनीहरुलाई उनले आग्रह गरिन् । सो अवसरमा उपमेयर बुर्लाकोटीले कार्यक्रमलाई भब्यताको साथ सम्पन्न गर्न सफल भएकोमा आयोजक समितिप्रति बधाई ज्ञापन गर्दै छायाछवि क्रियशनले अवार्डको माध्यमबाट नेपाली मौलिक संस्कृतिलाई युवापुस्ता माझ जोड्नको लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनहरुमा पनि निरन्तरताको शुभकामना समेत दिएकी थिईन् ।

कार्यक्रममा चलचित्र निर्देशक तथा तीज म्यूजिक अवार्ड समारोहका निर्देशक माधव खरेलले दश वर्ष अगाडिदेखि  आयोजना हुँदै आएको यस कार्यक्रमले मौलिक परम्परालाई जोगाउने मूल उद्देश्य लिएको र यस्ता किसिमका कार्यक्रमहरुलाई व्यावसायीकरण गर्नु भन्दा पनि हाम्रो आफ्नो कला संस्कृति जोगाउनतर्फ सबैले ध्यान दिन आग्रह गरेका थिए ।

सञ्चारकर्मी तथा कार्यक्रम सञ्चालिका दिपज्योति थापाले सञ्चालन गरेको उक्त अवार्ड समारोहको सदस्यमा दीपक थापा र शोविता सुर्खेती रहेका थिए भने कलाकार शिवहरि बैरागी नेपाल, सङ्गीतकार मनोज चौलागाई, गायिका दुर्गा परियार, गायक राज सागर र निर्देशक कमल एक्चै मगर निर्णायक रहेका थिए ।


अवार्डका विधा र विजेताहरुको नामावली:


एरेन्जर : विपिन आचार्य – स्वामीज्यू
मिक्सिङ : प्रकाश खरेल – यो तीजमा नजाने माइती
भिडिओ छायाकार : मुकेश हुमागाईं – आयो तीज आयो
मोडल (पुरुष) : प्रकाश सोनी – तीज आयो स्वामी राजा
दोहोरी तीज गीत मोडल : सम्झना बुढाथोकी – साडी जापानी
तीज दोहोरी गीत शब्द : जानकी पन्थ – अब त चाहियो काठमाण्डौमा घर
तीज दोहोरी गीत लय : प्रकाश शाही – पशुपतिमा जलहरी
तीज दोहोरी गीत गायक : विजय गुरुङ – तीजै आयो
तीज दोहोरी गीत गायिका : शोभा त्रिपाठी – नाचौं न पिर भुलेर
नवगायक : सुनिता भट्टराई – तीज बबाल
युगल मोडल : दीपाशा विसी, अञ्जली अधिकारी –  अरिकैको दासी बरी लै
युगल गायन : अन्जु श्रेष्ठ, बीना भट्टराई – तीजको लहर
नृत्य निर्देशक : केशव भट्ट – बालापनको तीज
भिडिओ निर्देशक गम्भीर विष्ट – यो तीजमा नजाने माइती
मौलिक तीज गीत मोडल : सुप्रिमा थापा – बालापनको तीज
उत्कृष्ट तीज गीत शब्द : वसन्त योगी – कल्ले खायो दर
मौलिक तीज गीत शब्द : कस्तुप पन्त – मन्दिरमा गजुर
लय : तारावीर पाण्डे – भन्छन् स्वामीले
मौलिक तीज गीत लय : वि.पी. वाग्ले – बरि लै माइतीको
गायिका : सिर्जना खत्री हाउडे माया – पिरलो
मौलिक तीज गीत गायिका : सीता के.सी – हेर त साइँली
भिडिओ सम्पादक : बन्दे प्रसाद – बालापनको तीज
दशककी उत्कृष्ट गायिका : सुनिता दुलाल – पियारी
गायिका : शोभा के.सी. – परदेशमा हाम्रो (जुरी)
उत्कृष्ट तीज गीत शब्द : कमला बोहरा खत्री – परदेशी चेलीको तीज (डायस्पोरा)
तीज दोहोरी गीत शब्द : हरि उप्रेती – तीजै आयो (जुरी)