समीक्षा अधिकारीको स्वरमा ‘जीवनको रेल’ सार्वजनिक

-प्रकाश सुवेदी

गीतकार दीपेन्द्र अधिकारीको सृजनामा रहेको `जीवनको रेल´ बोलको गीतको भिडियो शुक्रबार डिए क्रिएसन युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गायक तथा सङ्गीतकार सिडी विजय अधिकारीको सङ्गीत र राजु कार्कीको सङ्गीत संयोजनमा तयार भएको यस गीतमा सुमधुर स्वरकी धनी गायिका समीक्षा अधिकारीले स्वर दिएकी छन् । राजधानीको अनामनगरमा रहेको त्रिवेणी डिजिटलमा रेकर्डिङ भएको यस गीतको मिक्सिङ तथा मास्टरिङ राजकुमार बगरले गरेका छन् ।

सिलौटो कटेज अनामनगरमा छायाङ्कन गरिएको यस म्युजिक भिडियोमा छायाङ्कन, सम्पादन र निर्देशनको भूमिका वीरेन्द्र भाट विपिनले निभाएका छन् । भिडियोमा गीतको मर्मअनुसार गायिकालाई मात्र प्रस्तुत गरिएको छ । झट्ट सुन्दा विगत केही समयदेखि समीक्षाको जीवनमा घटेको घटनालाई आधार मानेर लेखिएजस्तो लाग्ने यस गीतका शब्दहरुले आम मानिसका जीवनमा घट्ने घटनालाई प्रतिबिम्बित गरेको छ ।

‘जीवनको रेल छुटेर जाँदा थाहा नै भएन, सपना सबै टुटेर जाँदा थाहा नै भएन, गर्नलाई त कल्पना सुन्दर गरेकै थिएँ नि, यस्तरी भाग्य फुटेर जाँदा थाहा नै भएन’ सानातिना क्षणिक खुशी र आवेगमा रमाउँदा जीवनले अर्कै मोड लिएर क्षतविक्षत भएपछि मात्र थाहा भएको प्रसङ्ग गीतमा उल्लेख गरिएको छ । जब जीवनमा हरेक सुख र खुशीहरु लुटिन्छन् त्यतिबेला मान्छे शून्य जस्तै हुन्छ । न उसलाई कसैको भर नै हुन्छ न त डर नै । गीतमा जानेर या कसैको लहैलहैमा गरेका गल्ति र त्यसले पार्ने दीर्घकालिन असरलाई सरल तरिकाले पस्किएको छ । जसरी असिनाले चुटेको बाली बिस्तारै घुँडा टेक्दै पूर्ण रूपमा उठ्छ त्यसरी नै मान्छेले जति हण्डर र ठक्कर खाए पनि हार नमानीकन उठ्ने प्रयास गर्न छाड्नुहुन्न भन्ने सकारात्मक भाव सहित गीतलाई टुङ्ग्याइएको छ ।

विशेष गरि मुक्तक लेखनमा हात हालेका दीपेन्द्रका मनमोहक पोखर, चुलबुल चुलबुल प्यारी भाञ्जी, नेपालकी छोरी लगायतका गीतहरु यस अगाडि न‌ै नेपाली गीत सङ्गीतको बजारमा आईसकेका छन् । २५ वर्ष भन्दा लामो समयदेखि जापानमा रहँदै आएका दीपेन्द्रलाई गीत-सङ्गीतको नशा राम्रैसँग चढेको छ ।