हास्य शृङ्खला ‘गोलमाल’ को सफलता पछि सामाजिक कथामा ‘तपस्या’, हेर्दाहेर्दै आँसु बगेको दर्शकको प्रतिक्रिया

-तुलसी गिरी ‘भावुक’

लोकप्रिय धारावाहिक फिल्म ‘गोलमाल’ का निर्माता पर्शुराम रिजाल यतिबेला फरक कथावस्तुको सिरियल ‘तपस्या’ को निर्माणमा जुटेका छन् l साप्ताहिक रुपमा प्रसारण हुँदै आएको हास्य शृङ्खला ‘गोलमाल’ हरेक हप्ता युट्युबको ट्रेण्डिङमा पर्दै आएको थियो भने नयाँ सिरियल ‘तपस्या’ ले पनि चाँडै  सफलताको त्यही उचाई चुम्ने सङ्केत देखिएको छ l लामो समय अघिदेखि म्युजिक व्यावसाय गर्दै आएका पर्शुराम रिजाल ‘भाइब्स क्रियशन’ नामक म्युजिक कम्पनीका प्रवन्ध निर्देशक समेत हुन् l यस नयाँ सिरियलमा उनी निर्माण सल्लाहकार रहेका छन् l

Tapasya Entertainment नामक युट्युब च्यानल मार्फत डिजिटल बजारमा आएको यस साप्ताहिक सिरियलको हालसम्म पहिलो र दोस्रो भाग अपलोड भएको छ l २ भाग मात्र अपलोड भएको यस सिरियलको यो समाचार लेख्दासम्म पहिलो भाग लगभग ५ लाख पटक हेरिएको छ भने अपलोड भएको ३ दिनमै दोस्रो भाग लगभग साँढे ३ लाख पटक हेरिएको छ l समसामयिक, यथार्थपरक, पारिवारिक तथा सामाजिक कथावस्तुमा केन्द्रित यस सिरियलका धेरै दर्शकले ‘हेर्दाहेर्दै आँसु बगेको’, ‘आफ्नै कथा जस्तो लागेको’ ‘मुटु नै छियाछिया भएको’ जस्ता प्रतिक्रिया लेखेका छन् l

फरक र सिर्जनशील काम गर्न रुचाउने वौद्धिक लेखक रामशरण पाठकको लेखन रहेको यस सिरियलका कथाकार एवं निर्देशक जीवन शाही हुन् l युवा निर्देशकहरुमाझ राम्रो सम्भावना भएका शाहीले यस सिरियलमा आफ्नो निर्देशकीय क्षमतालाई उत्कृष्ट रुपमा बाहिर ल्याएका छन् l सिरियलमा राम कुमार के. सी. ले सिनेम्याटोग्राफी र मित्रदेव गुरुङले सम्पादन गरेका छन् l जसमा राज सिग्देल र नन्दनी अधिकारीको आलाप एवं विनय कार्की र राजीव साहको पार्श्व धुन रहेको छ l सिरियलमा विनोद श्रेष्ठ, स्वानिका बास्तोला, रुक्मिला अधिकारी, उत्तम के. सी., हिमा थापा, सुरेन्द्र चापागाईं र राजेन्द्र गिरी ‘गुन्द्रुके’ को मुख्य भूमिका रहेको छ l सिरियलमा कलाकारहरुले प्रशंसनीय अभिनय गरेका छन् l कथाको माग अनुसार कलाकारहरु थप हुँदै जाने कुरा निर्देशक जीवन शाहीले जानकारी गराए l  युट्युबमा कमेडी र बकम्फुसे सिरियलहरुको बोलबाला रहेको अवस्थामा यस सिरियलले फरक रुची र वर्गका दर्शकहरुलाई समेत तान्न सक्ने अपेक्षा गर्न सकिन्छ l