तीजपर्व र गीत-सङ्गीत

देवी पराजुली (गीतकार)

प्रत्येक वर्ष जस्तै यसपाली पनि चाडपर्वहरु नजिकिँदै आएका छन् । महिलाहरुको रमाइलो पर्व तीज आउन केही समय मात्र बाँकी छ । प्राचीनकालमा हिन्दु महिलाले मनाउने तीज समाजको आधुनिकीकरणसँगै आममहिलाको चाडको आकारमा विकास हुँदैछ । अर्थराजनीतिक र सांस्कृतिक दुवै आयामले यसलाई हिन्दु महिलाबाट आममहिलाको चाडमा रुपान्तरण गर्दै लगेको छ । चाडपर्वहरुले संस्कृतिको माध्यमबाट परिवार, आफन्त र स्वजनहरुलाई जोड्ने गर्छन् । परस्परमा प्रेम, ममता, भ्रातृत्व, आदर र सम्मान जागृत गरी विभाजित मनलाई जोड्नु यसको मानवीय आयाम हो । यस दृष्टिले तीज नेपाली समाजको लैङ्गिक समभाव र वैवाहिक पारिवारिक एकताको कडी बन्न पुगेको छ । वैवाहिक जीवनमा प्रवेश गरेपछि जन्मघरबाट कर्म घरमा जोडिएकी महिलालाई माइतीको परिवारसँग जोड्नु तीजको सामाजिक विशेषता हो ।

समाजको आधुनिकीकरणसँगै तीजमा गाइने गीतका प्रकृति फेरिएका छन् । हिजो विवाहित चेलीहरु माइती जान नपाएको, वर्षदिनसम्म खेतीपातीको काममा व्यस्त हुँदा माइती भेट्न नपाएको जस्ता गुनासाहरु तीज गीतमा हुन्थे । जन्मघर छोडेर पराइघर जाने अबोध बालिकाले परिवारको बुहार्तन र कतिपय अवस्थामा पतिले गर्ने  दुर्व्यबहार मनमा गाँठो पारेर बस्नु पर्ने अवस्था थियो । त्यसैले प्राचीन समाजमा तीजले पारिवारिक बुहार्तन र दुर्व्यबहारलाई गीत मार्फत अभिब्यक्त गर्ने अवसर प्रदान गर्दै आएको थियो । वैयक्तिक जीवनमा भोगेको पीडा पोख्ने चौतारी झैं थियो त्यसवेलाको तीजपर्व । त्यस समयमा खुलेर बोल्न कि त रत्यौली कि त तीज नै पर्खनु पर्ने अवस्था थियो । त्यस बेलाका बेदना गीतमार्फत यसरी व्यक्त गर्ने गर्दथे —

वर्ष दिनको तीजमा बाबा लिन आउनु भो
सासू र ससुराले बचन लाउनु भो ।।

शिरमा लाउने शिरफूल सन्दुकमा राखुँला                                               
यो मनको बिरहलाई आजै पोखुँला ।।  

अहिलेको समाजमा बदलिएको कार्यविभाजन र महिलाको स्थानसँगै तीजगीतमा पनि परिवर्तन आएको भने अवश्य छ । हिजो ढिकी, जाँतो चुलो-चौको र मझेरीमा सीमित महिला आजभोलि विभिन्न सङ्घ-संस्थाहरुका माथिल्ला पद र  नीतिनिर्माणका विभिन्न तहमा पुगेका छन् । विश्वका धेरै मुलुकहरुमा कर्मथलो बनाएर बसोवास गरेका छन् । पुरानो चलनअनुसार तीज मनाउन र ब्रत बस्न माइत गएर नै दर खाने सम्भावना कम हुँदै गएको छ । जो जहाँ छन् त्यहीँ बसेर तीज मनाउनु पर्ने बाध्यता पनि भएको छ । अबका महिलाहरु आफ्नै कमाइले एकसरो लाउन र दुई छाक खान सक्षम भएका छन् । उनीहरुले आफ्नो कर्तव्य वुझेका छन् । त्यसैले हिजोआजका तीजगीत विलौंना भन्दा हाँसीखुसीमा रमाइरहेका छन् ।

तीजपर्व पनि आजभोलि हिन्दु नारीहरुमा मात्र सीमित रहेको छैन, जुनसुकै धर्म मान्ने सामुदायले पनि रमाइलो मान्दै मनाउन थालेको पाइन्छ । खुलेर जिउनु, निस्फिक्रि नाच्नु, गाउँनु, रमाइलो गर्दै तीजपर्व मनाउनु यसको विशेषता बन्न थालेको छ । पुरुषहरु पनि तीजका कार्यक्रममा सहभागिता जनाउन थालेका छन् । साँच्चै गीत-सङ्गीतको एकपल पनि कति मिठो र आनन्ददायी हुन्छ । यसले ऊर्जा दिन्छ । पलपलको रमाइलोले घण्टा वितेकै थाहा हुन्न । आजभोलि तीजगीतहरु दुःख बिसाउने चौतारी मात्र नभएर खुसी साट्ने चौतारी पनि बन्न पुगेका छन् । अहिले तीजपर्व माइतीघर जान नसकेका सबै महिला दिदीबहिनीहरु पायक पर्ने स्थानमा जमघट भई दुःख सुखका भावनाहरु व्यक्त गर्ने माध्यम बन्न थालेको छ । अहिलेका गीतमा साथीभाइबीच रमाइलो गर्दै पीडा र वेदना भन्दा सङ्घर्षका कुरा अनि महिला अधिकार, माया, प्रेम सद्भावका रमाइला पक्षहरुलाई समेटिएको पाइन्छ । जसले महिलालाई अझ चेतनशील, ऊर्जाशील र शसक्त बनाइ जिजीविषामा ताजगी थप्न ठूलो सहयोग भएको छ ।

हिजोआज सङ्घ-संस्था, महिला कार्यरत कार्यालयमा दाजुभाइ जुटेर दर खुवाउने चलन बढेको छ । विविध कारणले माइत जान नसक्ने महिलाहरु तथा संस्कृतिलाई जीवन्त राख्न यस्ता कार्यहरुले ठूलो भूमिका खेलेको छ । समाजमा कुरा काट्ने भन्दा पनि कुरा बुझ्ने पारिवारिक अवस्था र सामाजिक परिर्वतनलाई सहज रुपमा स्वीकार्न थालेको विगत एक दुई बर्ष यताका तीजलाई हेरेर भन्न सकिन्छ । कार्यशैलीको परिवर्तन र रोगले निम्त्याएका समस्याका कारण तीजमा निराहार ब्रतको सट्टा फलफूल ग्रहण गरी हाँसीखुसी मनोरञ्जन गर्दै ब्रत बस्ने चलन पनि सुरु भएको छ । तथापि दरमा प्रयोग गरिने खाद्यवस्तु र पहिरनको स्वस्थ प्रतिस्पर्धा हुन आवश्यक छ । 

आजको समाजका हरेक महिला जीवनका हरेक क्षणमा उदाउँदो विहानी जस्तो सुनौलो बनाउन प्रयत्नशील छन् । हरेक दिनको झुल्किँदो घामसँगै उनीहरु घर र कार्यालय दुबै धान्न तम्तयार देखिन्छन् । उनीहरुका ती पाइला आधाधर्ती ओगट्ने महिला भएर मात्र होइन समाजको दायित्व र जिम्मेवारी काँधमा बोकेर अघि बढ्नेतर्फ अग्रसर छन् । आजको समयमा महिलाको परिवर्तित जिम्मेवारी अनुकूल बनाउँदै तीजगीतहरु आउनु पर्दछ । परम्परा, रीतिरिवाज, पारिवारिक सुमधुर सम्वन्ध, हिजोको अवस्थालाई सम्वोधन र आजको परिर्वतनको स्वीकारोक्ति तीजगीतहरुले बोक्नु पर्दछ । सांस्कृतिक परिर्वतनलार्ई समयानुकूल गरेर नै हामी हरेक चाडपर्वलाई उमङ्गमय बनाउन सक्छौं । तीजपर्वले हुँदाखाने र हुनेखाने बीच विभेद नल्याओस्, सबैलाई समेट्न सकोस् । आउनुस्, तीजलाई सार्थक सांस्कृतिक अभ्यासका रुपमा अगाडि बढाऔं । सबै आमा दिदीबहिनीहरुलाई २०८० सालको तीजको शुभकामना ! जति नै धनी कर्मघर भएपनि चेलीवेटीका लागि तीजमा ‘माइत रमाइलो’ बोलको मेरो शव्द रहेको तीजगीत यहाँहरुका लागि ।