आशालाग्दी प्रतिभा : Mishel Ghimire

-तुलसी गिरी ‘भावुक’

सूचना र सञ्चार क्षेत्रले डिजिटल युगमा प्रवेश गरेसँगै नेपाली गीत-सङ्गीतले पनि विश्वव्यापी पहुँच कायम गरेको छ भने  यस क्षेत्रले अकल्पनीय रुपमा व्यावसायिक छलाङ मारेको छ l केहीवर्ष अघिसम्म हरेक आमा-बुबाहरु कला क्षेत्रमा लागेर आफ्ना सन्ततिको भविष्य बिग्रन्छ भन्ने सोच्दथे l तर आज समय बदलिएको छ, कला क्षेत्रलाई लिएर आमा-बुबाको मात्र नभई समाजको समेत सोच्ने ढङ्गमा आमूल परिवर्तन आएको छ l आजका अभिभावकहरु आफ्ना छोराछोरी कला क्षेत्रमा स्थापित भएको हेर्न चाहन्छन् l यसै सन्दर्भमा यहाँ एक उदियमान प्रतिभा मिशेल घिमिरेको बारेमा चर्चा गरिएको छ l 

नेपाली सङ्गीत र म्युजिक भिडिओ मोडलिङको क्षेत्रमा मिशेल घिमिरे नयाँ नाम भएपनि उनलाई अत्यन्तै राम्रो सम्भावना भएकी प्रतिभाको रुपमा चिन्न सकिन्छ l गायन र म्युजिक भिडिओ मोडलिङमा परिचित हुने उनको प्रमुख लक्ष्य हो l सुन्दर तनकी धनी मिशेल एक बलियो आत्मविश्वास, जुझारु र मेहेनती स्वभावकी युवती हुन् l

हात्तीवन, ललितपुर निवासी पिता महेन्द्र प्रसाद घिमिरे र माता सपथ घिमिरेको परिवारमा आजभन्दा २५ वर्ष अघि दोस्रो सन्तानको रुपमा जन्म लिएकी मिशेल एक दाजु मनिष घिमिरेकी एक्ली बहिनी पनि हुन् l बाल्यकालदेखि नै कला-सङ्गीतप्रति अनन्य झुकाव भएकी उनले कलानिधि इन्दिरा सङ्गीत महाविद्यालय, ललितपुरमा एक वर्षसम्म पूर्वीय तथा पाश्चात्य सङ्गीत सिकेकी छिन् l विशेषगरि पप गायनप्रति उनको अलि बढी झुकाव रहेको छ l ‘गुरुहरु, साथीभाइ र आफन्तहरुबाट राम्रै प्रतिक्रिया पाईरहेकी छु l अब छिट्टै गीत रेकर्ड गर्ने विचार छ’ उनले भविष्यको योजनाबारे खुलस्त पारिन् l

विगतमा The Voice of Nepal नामक चर्चित गायन रियालिटी शो Season 1 को डिजिटल अडिशनमा छनोट भएपनि विविध कारणवश उनले अर्को राउण्डमा सहभागिता जनाउन भने पाईनन् l तथापि Nepali Singing Idol PKM-4 नामक अर्को गायन रियालिटी शो मा भने उनले दोस्रो राउण्डसम्म आफ्नो प्रस्तुति दिएकी थिईन् l Nesfield International College ललितपुरबाट Social Work मा व्याचलर्स डिग्री उत्तिर्ण गरेकी मिशेल हाल माष्टर्स डिग्रीको अध्ययन गरिरहेकी छिन् l करिव ५ वर्ष अघि ठमेलको छाया सेन्टरमा आयोजित ‘फरिया फेशन शो’ नामक इभेन्टमा र्याम्प मोडलिङको समेत अनुभव बटुलेकी मिशेल त्यसलाई एउटा अनुभवको सहभागिता मात्र भएको बताउँछिन् l ‘र्याम्प मोडलिङ मेरो प्रमुख लक्ष्य होईन’ उनी भन्छिन् l

कुनै इन्स्टिच्युटमा नृत्यको प्रशिक्षण नलिए पनि आवश्यक परेको बेला ‘नाच्न सक्छु’ भन्ने आत्मविश्वास छ उनमा l करिव १० वर्ष अघि अल्लारे उमेरमै आफ्नै साथीहरुले निर्माण गरेको तर त्यति चर्चामा नआएको एउटा म्युजिक भिडिओमा मोडलिङ समेत गरेकी मिशेलले त्यस भिडिओको बारेमा चर्चा गर्न भने त्यति रुची राखिनन् l सन् २०२१, २०२२ र २०२३ मा केन्द्रीय तथ्याङ्क विभागमा आवद्ध भई केही महत्वपूर्ण कामहरु गरेको अनुभव भएकी उनले सन् २०१६ देखि २०१७ सम्म एकवर्ष Ratopati.com नामक प्रतिष्ठित अनलाइनमा अङ्ग्रेजी समाचार सम्पादक जस्तो महत्वपूर्ण जिम्मेवारी समेत पूरा गरेकी थिईन् l कला क्षेत्रमा अघि बढ्नको लागि आमा सपथ घिमिरेको विशेष सपोर्ट भएको बताउने मिशेल गायन र म्युजिक भिडिओ मोडलिङलाई समानान्तर ढङ्गमा अगाडि बढाउन चाहन्छिन् l गायन र मोडलिङको अतिरिक्त कुकिङ, स्केचिङ र स्वीमिङमा पनि आफ्नो रुची रहेको उनले बताएकी छिन् l

* फोटो: शिवलाल श्रेष्ठ (९८४१२१२८९७ ), तस्बीर स्टुडियो, बागबजार