तिज पर्वको ऐतिहासिकता र तिज गीत

-प्रकाश सुवेदी

धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले १०८ जन्मसम्म महादेव स्वामी पाउँ भनेर तपस्या गरेपछि व्रतको फलस्वरुप महादेव पति पाएको दिनलाई हिन्दु नारीहरूले हरितालिका तिजका रूपमा मनाउँदै आएका छन् । जसरी पार्वतीले कठोर व्रत गरेर महादेव स्वामी पाइन् त्यसरी नै हिन्दु नारीहरु पनि सुयोग्य वर प्राप्तिका लागि भाद्र शूक्ल तृतीयाका दिन आफ्नो मनोकाङ्क्षा पूरा होस् भनी निराहार व्रत बस्न थाले र त्यो चलन अहिलेसम्म पनि कायमै छ । तिज हरेक वर्ष भाद्र शूक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ, तीजका दिन व्रत बसिन्छ, चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ ओटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरि हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमानले  पकाएको खाना  खाएमा श्रीमान श्रीमतीबिच आत्मीयता एवं सद्भाव बढ्छ भन्ने विश्वाश छ ।

तिज शब्दसँगै जोडिएर आउने अर्को संयुक्त शब्द हो ‘तिजगीत’। तिजसँग तिजगीत अलग्याइयो भने पर्वको गरिमा घट्ने मात्र हैन अधुरो नै रहन्छ । तिजगीतको गायन परम्परा कहिलेबाट सुरु भयो ठ्याक्कै समय किटान गर्न भने सकिँदैन । तर पनि हामीले जीजूआमा, हजुरआमा र आमाका पुस्तादेखि तिजगीत सुन्दै आएका छौं l  त्यतिबेलाका तिजगीतहरुमा महिलाहरुका आफ्नै पारिवारिक गुनासा हुन्थे । जस्तो कि सानैमा बिवाह भएको, घरमा सासू, नन्द र देउरानी जेठानीको कचकच, श्रीमानले हेला गरेको, वर्षदिनमा १ दिन आउने पर्वमा समेत माइत जान नपाएका, जानै पाउँदा पनि ३/४ दिनका लागि घाँस पुर्याएर जानु परेका, बल्लतल्ल घरबाट जाने अनुमति पाए पनि खोलामा पुल नहुँदा र ठूलो बाढी आएका कारण बिच बाटोबाटै फर्किनु परेका आदि । समयको परिवर्तनसँगै तिजका गीतमा पनि परिवर्तन आउन थाल्यो । २०४६ सालसम्म लगभग गुनासा र कुण्ठामा सीमित तिजगीतहरुमा  बहुदलको आगमनसँगै विद्रोहका स्वरहरु सुनिन थाले ।

 २०५८ सालमा  बजारमा आएको गायक प्रजापति प्रराजुलीको `वेदनाको पोको´ भाग-१ नामक एल्वमबाट तिजगीतमा दोहोरो संवादात्मक शैलिमा २ देखि ५/६ जना पात्रहरु उभ्याएर गाउन थालियो । २०८० सम्म आईपुग्दा वेदनाको पोको भाग-१३ बजारमा आईसकेको छ । शालिन शैलिमा प्रस्तुत गरिएका ती गीतहरु सरल थिए । २०५८ बाट लगातार पाचौं शृङ्खलासम्म तिज वेदनाको पोकोमय बन्यो । प्रजापतिका सृजनाले कहिल्यै पनि सामाजिक मर्यादाको सिमारेखा नाघेनन् ।

वि.सं २०५८ मा आएको वेदनाको पोको भाग-१  मा आमाले दिदी लिन जाऊ भनेर छोरालाई अह्राउँछिन् । छोराले जान त जाने तर कोशेली पो के लाने भनेपछि आमाले दिदी जीऊ सुकेर खत्तम भएकी छन् अनदी र घीऊ लिएर जाऊ भन्छिन् । छोरा आमाले भने बमोजिम अचार खाने काक्रो समेत लिएर जान्छन् । दिदीभाइको भेट हुन्छ l भिनाजुलाई नदेखेपछि दिदीलाई सोध्छ । भिनाजुलाई बाह्रै महिना तास खेल्ने भनेर गुनासो गर्छ, दिदीलाई लिन आएको कुरा सुनाउँछ । भिनाजुले आमालाई सोध भन्छन् l भिनाजुकी आमालाई सोध्छन् l भिनाजुकी आमाले तिम्रो भेनाले घरमा केही काम गर्दैन, उसले घर धान्छ भने उसैलाई सोध मलाई किन सोध्न पर्यो ? भन्ने आशयको ओठेजवाफ दिन्छिन् । दिदीलाई घरबाट जानदिने छाँट देखिन्न l दिदीभाइ निराश हुन्छन् । लगभग ५८ सालमा बजारमा आएको यो तिजगीत चेतन कार्कीको शब्द तथा मनोहरि सिंहको सङ्गीत रहेको ‘तीजको लहर आयो बरिलै’, पछिको सबैभन्दा उत्कृष्ट तिजगीत हो भन्दा फरक नपर्ला । उदाहरण स्वरूप प्रस्तुत गीतका केही टुक्काहरु यस्ता थिए ।

तिज आयो जाऊ न बाबू दिदी लिनलाई
खुट्टैमा ढोग गरे है भेट्दा भेनालाई

हुन्छ आमा दिदी लिन जान्छु जान त
कोशेली पो के लानी हो पर्छ लान त

दुब्लाएर बनाई कसी छैन बरा जीऊ
अनदीको चामल र लैदेऊ बाबू घ्यू

लौ पैसा भोक लागे चिया बिस्कुट खाऊ
रात पर्ला बाटोमा अलि छिटो जाऊ

फोन गरौँ भने छैन टेलिफोनको तार
दिदी म त आईपुगेँ गरेँ नमस्कार

कताबाट आईपुग्यौ नि कान्छो मेरो भाइ
म त हिँडे पानी लिन बस बाबू है

यो गीत ५० को दशकको प्रतिनिधिमूलक तिजगीत हो l जसमा तत्कालिन समयको ग्रामिण परिवेशको यथार्थ चित्रण छ । त्यतिबला यो गीत सुन्दा मनमा दृष्यहरु स्वस्फूर्त आउँथे । छोरी माइत पठाएनन् भनेर छोरीका सासूससुरालाई गुनासो गर्ने बाआमाले बुहारीलाई छोरी त आउन पाइन तिमी माइत जाऊ बुहारी भन्नुको साटो मेरी छोरी त आउन पाइन तँलाई किन जानुपर्यो ? जाने नै भए ४ दिनका लागि घाँस पुर्याएर जा भन्ने खालका जवाफ दिन्थे ।

तिजको बेला गाइने सबै गीतलाई तिजगीत भन्न मिल्दैन । २०६४/६५ देखि एक दशक भन्दा बढि समय तिजका भाकामाथि निकै अतिक्रमण भयो । साँच्चै भन्दा बलात्कार नै भयो । रत्यौली र पञ्चेबाजा शैलीका गीतलाई तिजगीतको पघरी गुताइयो । शब्दचयन र भिडिओ बनाउने शैलीमा छाडापन भित्रियो । तलसम्म झर्नुपर्नै चोली र फरियाले ठाउँ छोडे । नाकमा लाउने बुलाँकी नाइटोमा सारियो। मोडलका रूपमा झ्यापुल्टेहरुले स्थान पाए । लाज भन्ने शब्दलाई समेत लाज लाग्ने खालका दृष्यहरु भिडिओमा देखिन थाले । चौतारा, चोक, डबलीबाट तिजगीतहरु पार्टी प्यालेसतिर प्रवेश गरे । कोक पिउँदा समेत मुख बिगार्ने दिदीबहिनीहरु चियर्स भन्दै गिलास ठोक्न थाले । स्वतन्त्रता भनेकै नाङ्गिनु हो भनेर अर्थ्याउने कुचेष्टा गरियो । युट्युवमा भ्यू बढाउनकै लागि अर्धनग्न थम्बनेलहरु राख्न थालियो । यसको अर्थ त्यतिबेला राम्रा गीत आउँदै नआएका हैनन् भन्ने चाहिं मेरो आशय हैन । धेरै राम्रा गीतलाई समेत छाडा गीतले ओझेलमा पारे । सर्जकले आफ्नो गरिमा बिर्सिए भने कतिपय नायक नायिका हुँ भन्नेहरुले लाज । तिजगीतका नाममा बजारमा आएका भिडिओहरु भोजपुरी चलचित्रका आईटम डान्स भन्दा पनि गएगुज्रेका देखिन थाले । लगभग २०५५ को हाराहारीमा जन्मेका बच्चालाई त तिजगीतको मुख्य विशेषता नै छाडा हुनुपर्छ भन्ने लाग्यो । 

साहित्य होस् या गीतसङ्गीत, चलचित्र होस् या रङ्गमञ्च हरेकले समाज बोल्ने हुँदा यस्ता सृजनाहरु समयसापेक्ष हुनुपर्छ र त्यो कुरा सर्वस्वीकार्य हुनुपर्छ । नयाँपनको नाममा अर्गानिक स्वादलाई मास्ने अधिकार हामीलाई छैन । तिजगीत होस् या अन्य पर्वमा गाइने गीत सुरुको १५ सेकेण्डको म्युजिक सुन्नासाथ यो यस्तो प्रकृतिको गीत बज्दैछ है भन्ने खालको आभाष श्रोतालाई दिलाउन सक्नुपर्छ । हाम्रा भेषभूषा, रीति, परम्परा जस्तै  कला र सङ्गीत पनि हाम्रा पहिचान हुन् । कतै हामी पहिचान बनाउने निहुँमा भएको पहिचान मेटाउँदै त छैनौँ ?  यसलाई गम्भीर रूपमा लिनुपर्ने समय आएको छ ।

अग्रजहरु, महिला अधिकारकर्मी र संगठित सङ्घ-संस्थाहरुको व्यापक बिरोध र आलोचना पश्चात्  पछिल्ला केही वर्षदेखि तिजगीतमा देखिने छाडापन न्यूनिकरण भएको छ । समाजमा सासूबुहारी बिचको दूरी पनि केही हदसम्म घटेको छ । परिवर्तनशील समय, शिक्षा, सूचना-सञ्चार र यातायातको विकास सँगसँगै ४/५ वर्षमा १ पटक माइत जान पाउने बुहारीहरु वर्षमा ४/५ पटकसम्म जान सक्षम भएका छन् । अबका तिजगीत मार्फत आउँदै गरेको पिँढीलाई संस्कार सिकाउन सक्नुपर्छ । लोकगायक प्रजापतिको समूहले बसालेको तिजगीत भित्रको वार्तालाप शैलीको सकारात्मक संस्कारलाई समय सापेक्ष रूपमा निरन्तरता दिउँ नत्र गति नछाडौँ । परिस्कार र परिमार्जनले झन् सिंगार्ने काम गर्छ न कि बिगार्ने ।

*लेखक प्रकाश सुवेदी एक लोकप्रिय गीतकार समेत हुन् l