म्युजिक भिडिओ निर्देशक समाजद्वारा नगद सहित सङ्गीतकार बासकोटा सम्मानित

-प्रकाश सुवेदी

नेपाल म्युजिक भिडिओ निर्देशक समाजको दोस्रो वार्षिक उत्सव, साधारणसभा तथा स्रष्टा सम्मान कार्यक्रम राजधानीमा रहेको राष्ट्रिय नाचघर जमलमा सम्पन्न भयो । संस्थाका कार्यवाहक अध्यक्ष देवेन्द्र पाण्डेको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख आतिथ्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गर्नुभएको थियो । अतिथिहरु समाजसेवी तथा गायक विकास राणा, चर्चित गायिका देविका बन्दना कार्यक्रमका सल्लाहकार राजेन्द्र पुरी सहित प्रतिष्ठित व्यक्तित्वहरुको समुपस्थितिमा सम्पन्न सो कार्यक्रमको संयोजकत्व संस्थाका कोषाध्यक्ष बबिता श्रेष्ठ, सञ्चालन चर्चित सञ्चारकर्मी नरेश भट्टराई र स्वागत मन्तव्य संस्थाका महासचिव सुव्रत आचार्यले दिनुभएको थियो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष निशान घिमिरे, सचिव प्रकाश धिताल, सहसचिव समन अधिकारी, सहकोषाध्यक्ष डि. आर. सुजन, सदस्यहरु गम्भीर बिष्ट, दयाराम घिमिरे, कृष्णदेव रूपाखेती, सुरेन्द्र बसेल, जनक सिंह, देवेन्द्र कुँवर र देवराज आचार्यको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा म्यूजिक भिडिओको स्तरलाई एउटा उचाइमा पुर्याउन सफल म्यूजिक भिडिओ निर्देशकद्वय स्व. आलोक नेम्वाङ र स्व. सुरज श्रेष्ठको स्मृतिमा प्रथम आलोक-सुरज स्मृति पुरस्कार स्वरूप नगद राशी रू. ११,१११/ (एघार हजार एक सय एघार) सहित सङ्गीतरत्नको उपाधीले विभूषित प्रतिष्ठित सङ्गीतकार शम्भुजीत बासकोटालाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा नेपाली म्यूजिक भिडिओ र सञ्चार जगतमा आफ्नो अथक मेहनतकासाथ विशेष योगदान पुर्याउने वरिष्ठ लोकदोहोरी गायक प्रेमराजा महत, वरिष्ठ भिडिओ सम्पादक प्रकाश तुलाधर, वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ छायाकार तथा कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी निर्माता धिरज जङ्ग शाह, पहिलो महिला भिडिओ निर्देशक, सञ्चारकर्मी तथा समाजसेवी अनुपा श्रेष्ठ र वरिष्ठ भिडिओ निर्देशक शङ्कर बिसीलाई विशेष सम्मान गरिएको थियो ।

यसैगरी समारोहमा चर्चित गायक यस कुमार, गीतकार प्रकाश सुवेदी, पप गायिका तथा कार्यक्रम सञ्चालिका प्राश्ना शाक्य, चर्चित गीतकार अम्बिका गुरुङ, गीतकार तथा चलचित्र निर्देशक सत्यराज चौलागाईँ, नायिका सुशिला थापा, चर्चित लोकगायक रामजी खाँड, चर्चित गायक तथा नायक दुर्गेश थापा, नेपाली हाँस्यव्यङ्ग्य जगतमा पछिल्लो समयमा औधी रुचाइएका कलाकार सागर लम्साल(बले), अभिनेता तेज गिरी, गायक सञ्जिव सिंह राना, गायक ओम सुनुवार, समाजसेवी दिपेश श्रेष्ठ, पत्रकार ऋषि थपलिया हाँस्य कलाकार कृष्ण जोशी, गायक दिपेश श्रेष्ठ, थालीकी मौलिक नित्याङ्गना एजिबिबा पुर्जा पुन लगायत विभिन्न सर्जक तथा विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको सो समारोहमा चर्चित भिडिओ निर्देशक तथा प्रतिनिधि सभा सदस्य असिम शाहलाई मानार्थ सदस्यता प्रदान गरिएको थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले वरिष्ठ सङ्गीतकार शम्भुजीत बासकोटा र वरिष्ठ लोकगायक प्रेमराजा महतको मुक्तकण्ठले प्रशंसा गर्दै डण्डीबियोको दृष्टान्त दिनुभएको थियो । मन्त्री किराँतीले उहाँहरुको उचाईको तुलनामा आफूलाई डण्डीबियो खेलको बियो र उहाँहरुलाई डण्डीसँग तुलना गर्नुभएको थियो । चर्चित गायक एसकुमार, जुनु रिजाल, प्राश्ना शाक्य आनन्द कार्की, दुर्गेश थापा लगायतका गायक गायिकाहरुको साङ्गीतिक प्रस्तुति र ५ वर्षका जुम्ल्याहा दाजुभाइ जेविस र जेनिसको नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।