‘गीतकार उपचार कोष’ सहयोगार्थ साङ्गीतिक कार्यक्रम सम्पन्न

-तुलसी गिरी ‘भावुक’

गीतकार सङ्घ नेपालले ‘गीतकार उपचार कोष’ सहयोगार्थ साङ्गीतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम शनिबार जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को मेघा हलमा आयोजना भएको थियो l सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाको सभापतित्व एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा ‘राष्ट्रिय स्रष्टा सम्मान’बाट सम्मानित अग्रज गीतकारहरूको गीत लाइभ बाजामा प्रस्तुत गरिएको थियो l

 समारोहमा आफ्ना भनाई राख्दै सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाले सङ्कलित रकमबाट नेपाली गीत लेखनमा योगदान पुर्‍याउने तमाम गीतकारहरूका लागि ‘गीतकार उपचार कोष’ खडा गरिने जानकारी गराउँदै उपचार नपाएर कुनै गीतकारले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने सेवामूलक उद्देश्यले ‘उपचार कोष’ स्थापना गर्न लागिएको कुरा बताएका छन् l अक्षयकोष वृद्धिका लागि निकट भविष्यमै भृकुटीमण्डपमा अर्को मेघा साङ्गीतिक कार्यक्रमको आयोजना गरिने कुरा समेत अध्यक्ष थापाले समारोहलाई जानकारी गराए l यसैगरी कार्यक्रमस्थलमा उपस्थित दर्जनौं सर्जक, कलाकर्मी र शुभचिन्तकहरुले स्वत:स्फुर्त रुपमा कोषका लागि रकम हस्तान्तरण तथा रकम दिने प्रतिवद्धता जाहेर गरेका थिए l जस अनुसार लोकप्रिय साङ्गीतिक कार्यक्रम ‘ईन्द्रेणी’ का सञ्चालक कृष्ण कँडेलले रू. ३ लाख र प्रमुख अतिथि मन्त्री सुदन किराँतीले समेत रू. १ लाख दिने प्रतिवद्धता जाहेर गरेका छन् l          

कार्यक्रममा रत्न शमशेर थापाद्वारा रचित दुई गीत ‘जाग लम्क चम्क र  ए कान्छा ठट्टैमा’, किरण खरेलको ‘वसन्त नै बस्न खोज्छ यहाँ’, यादव खरेलको ‘गैरी खेतको’, भैरवनाथ रिमाल ‘कदम’को ‘जुन फूल मैले र उदास मेरो जीवन’, नगेन्द्र थापाको ‘चिनारी हाम्रो’, राजेन्द्र थापाको ‘पोहोर साल खुसी फाट्दा’, प्रेम विनोद नन्दनको ‘ज्यानको माया नैना रेशम’, विश्व बल्लभको ‘भाग्यले खुसी’, शिवशंकर थापाको ‘भन्थिन् मेरी उनी’, दुर्गालाल श्रेष्ठको ‘फूलको आँखामा फूलै संसार’ र कालीप्रसाद रिजालको बनै खायो डढेलोले’ गरि ११ सर्जकका १३ वटा  गीतहरूको प्रस्तुति रहेको थियो भने उदय सोताङ, यम बराल, सुजाता वर्मा, दुर्गा परियार, श्रेयशी चेम्जोङ, तारा श्रीष मगर, सञ्जय तुम्रोक, तारा थापा, सुनिल राई, रुपक चौधरी, मनमा बिराई र कैलाश बि.क. ले स्वर दिएका थिए l अशोक राईको सङ्गीत संयोजनमा सम्पन्न सो समारोहमा शिला बहादुर मोक्तान, मनोहर सुनाम, केशव सुनाम, मोहन कार्की ढली, रविन कार्की ढली, गोपाल देव घतानी, देव राई, दीपक थापा, भरत बुढाथोकी, नरेश प्रजापति, पोषण घर्ती, शशी विक्रम र राहुल भुजेलले लाइभ वाद्यवादनमा साथ दिएका थिए l

कार्यक्रमका मुख्य प्रायोजक नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक रहेका थिए भने कृषि बिकास बैंक , कर्मचारी संचय कोष, साना किसान बिकास लघुबित्त बित्तीय संस्था र म्युजिक नेपालले सह-प्रायोजकका रुपमा साथ दिएका थिए । कार्यक्रम कानून व्यावसायी समेत रहेका संस्थाका आजीवन सदस्य हरिराम पौडेलले सञ्चालन गरेका थिए l