आमाको महिमा अब म्युजिक भिडिओमा ‘आमा तिमी छाडेर गैगयौ’

-तुलसी गिरी ‘भावुक’

गीतकार डी. पी. दाहाल परिश्रमीको रचना, सन्तोष श्रेष्ठको सङ्गीत र अञ्जु पन्तको स्वरमा रहेको हृदयविदारक भावको गीत ‘आमा तिमी छाडेर गैगयौ’ को भिडिओ बजारमा आएको छ । गीतमा राजु कार्कीको म्युजिक एरेन्ज रहेको छ भने किशोर थापाले मिक्सिङ/माष्टरिङ गरेका छन् l

रिता सिम्खडा दाहालको प्रस्तुति रहेको यो म्युजिक भिडिओ निकेश खड्काले निर्देशन गरेका हुन् l जसमा उत्तम हुमागाईंको सिनेम्याटोग्राफी र विकाश धमलाको सम्पादन रहेको छ भने स्मारिका ढकाल र सारदा अधिकारीले प्रमुख भूमिकामा अभिनय गरेका छन् l आमाको महिमा र आमा नहुँदाको रिक्तताको बेजोड प्रस्तुति रहेको यस गीत तथा भिडिओमा आफ्ना सन्ततिहरुप्रति आमाको माया र आफूले हजार पीडा सहेर पनि सन्तानको अनुहारमा खुशी हेर्न चाहने आमाको असीमित प्रेमलाई दर्शाईएको छ l आमा गुमाएका हरेक व्यक्तिको साझा भावना बोकेर आएको यस गीतले ‘आमा’ शब्दको महानतालाई अझ गहन र प्रिय बनाएको छ l

२०५१ सालबाट सक्रिय लेखनयात्रा सुरु गरेका सर्जक डी. पी. दाहाल परिश्रमीको प्रमुख साहित्यिक विधा गीत भएपनि मुक्तक, कथा र गजल लेखनमा पनि उनी त्यत्तिकै क्रियाशील रहँदै आएका छन् l विगतमा रेडियो नेपालबाट उनका धेरै गीतिनाटक प्रसारण भएका छन् l उनीद्वारा रचित गीतिनाटक ‘रुमल्लिएको जिन्दगी’ रेडियो नेपालमा यति धेरै लोकप्रिय भएको थियो कि श्रोताको फर्माइसमा समेत कैयौं पटक प्रसारण भएको थियो l

२०६४ सालमा अग्रज सङ्गीतकार शम्भुजित बास्कोटासँगको सहकार्यमा एकल रचनाको गीति एल्बम ‘तिर्सना’ प्रकाशन गरेका सर्जक दाहालका हालसम्म ४० वटा गीत रेकर्ड भएका छन् भने ती मध्ये धेरै गीतका भिडिओ समेत प्रकाशित छन् l ‘तिर्सना’ बजारमा राम्रै चलेपनि त्यसपछि भने उनले आफ्ना गीतहरुलाई एल्बमका रुपमा सङ्ग्रहित गरेका छैनन् l फुटकर रुपमै रिलिज गर्दै आएका छन् l उनको रचनामा ‘अन्तर्मनका सुसेलीहरु’ शीर्षकको पुस्तक समेत बजारमा आएको छ l

गीत-सङ्गीत क्षेत्रमा पुरानादेखि नयाँ पुस्ताका सङ्गीतकार/गायक-गायिकाहरुसँग काम गरिसकेका दाहाल एक व्यावसायिक लेखा परीक्षक हुन् l गीतमा काल्पनिकता भन्दा यथार्थता लेख्न मन पराउने उनी बजारको अवस्था फरक भएकोमा चिन्ता व्यक्त गर्छन् l नेपाल अडिटर अशोसिएशनका प्रथम उपाध्यक्ष समेत रहेका दाहाल गीतकार सङ्घ नेपाल, कलारुद्र गजादिप प्रतिष्ठान र नेपाल अडिटर अशोसिएशनका आजीवन सदस्य समेत हुन् दाहाललाई सङ्गीत क्षेत्रमा उनले गरेको कामको उच्च मूल्याङ्कन गर्दै २०७७ सालमा गीतकारतर्फ ‘नातिकाजी स्मृति पुरस्कार’ र २०७८ मा गीतकारकै विधामा ‘तीजगीत अवार्ड’ प्रदान गरिएको थियो l