साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सव सम्पन्न, सर्जकहरु सम्मानित


साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सव सम्पन्न भएको छ । सोमबार काठमाडौंमा एक विशेष समारोहबीच १३ विशिष्ट साधकहरूको अभिनन्दन र साहित्यका विभिन्न विधामा योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान गरेर सम्पन्न गरिएको हो । २०२९ सालमा स्थापित साहित्यिक पत्रकार सङ्घले विगत एक वर्षदेखि स्वर्ण महोत्सवको अवसर पारेर विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ l

सोमबार सम्पन्न समापन समारोहमा सापस स्वर्ण महोत्सव सम्मानबाट मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, के. के. कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), प्राडा सुरेन्द्र केसी, द्वारिका श्रेष्ठ, रमा शर्मा, माया ठकुरी, हिरण्यकुमारी पाठक, प्रदीप बमजन, एस.पी. कोइराला र डा. डीआर उपाध्याय अभिनन्दित भएका थिए । सो अवसरमा सर्जक गणेश रसिकलाई नेपाल–भारत साहित्य महोत्सवमा प्रदान गरिएको सम्मानपत्र पनि प्रदान गरिएको थियो । समारोहमा सापस स्वर्ण महोत्सव सम्मानबाट सङ्घका पूर्व अध्यक्षहरू नगेन्द्रराज शर्मा, अच्युतरमण अधिकारी, विश्वविमोहन श्रेष्ठ, हेमन्त श्रेष्ठ र नरेन्द्रबहादुर श्रेष्ठ अभिनन्दित भएका थिए । पूर्व अध्यक्ष नगेन्द्रराज शर्मालाई नगद १० हजारसहित ‘साहित्यिक पत्रकारिता पुरस्कार २०६३’ पनि प्रदान गरिएको थियो । यस्तै, ‘सापस स्वर्ण महोत्सव समालोचना विशिष्ट सम्मान’बाट वरिष्ठ समालोचक प्रमोद प्रधान र समालोचक गीता त्रिपाठी, ‘सापस स्वर्ण महोत्सव समीक्षा सम्मान’बाट वरिष्ठ समीक्षक ज्ञानु अधिकारी र समीक्षक छविरमण सिलवाल सम्मानित भएका छन् ।

यसैगरी ‘व्यथित काव्य सम्मान’ बाट कविहरु उदय निरौला (२०७४), श्रवण मुकारुङ (२०७५), रमेश श्रेष्ठ (२०७६), कृसु क्षेत्री (२०७७), मोमिला जोशी (२०७८) र गीता कार्की (२०७९) सम्मानित भएका छन् । ‘व्यथित काव्य डायसपोरा सम्मान’ हेमन्त श्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत) र शकुन ज्ञवाली (अमेरिका) सम्मानित भएका छन् ।

सङ्घले आफ्नो स्वर्ण महोत्सवका अवसरमा विभिन्न साहित्यिक पत्रकारहरूलाई समेत प्रशंसा-पत्र प्रदान गरेको छ । किशोर पहाडी, कृष्ण भुसाल, सुमन बैरागी पण्डित, श्रीराम राई, प्रेमिला गौचन (अमेरिका), विश्वराज थापा (अमेरिका), ठाकुर बेलबासे, उमेश पाण्डे, भूपराज खड्का, राजेश खनाल, राजन कार्की, रत्नप्रसाद अनामी, निबन्ध आचार्य, सरस्वती गौतम, नरनाथ लुइँटेल, सागर श्रेष्ठ, रमेश दाहाल, बलराम थापा र रुद्र अधिकारीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो l कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले सङ्घको योगदानको चर्चा गर्दै शुभकामना व्यक्त गरेका थिए l

सङ्घका अध्यक्ष राधेश्याम लेकालीले सङ्घको पचास बर्षको योगदानका बारे बोल्दै साहित्यिक पत्रकारिताको उन्नयन विकासका लागि सरकारले छुट्टै निकायको व्यवस्था गर्नुपर्ने र नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणको लागि विभिन्न दूतावासहरुमा सांस्कृतिक सहचारीको व्यवस्था गर्नुपने धारणा राखेका थिए ।

समारोहका प्रमुख अतिथि वरिष्ठ चलचित्र निर्देशक एवम् साहित्यकार यादव खरेलले विभिन्न क्षेत्रका साधकहरूलाई अभिनन्दन र सम्मान गरेर साहित्यिक पत्रकार सङ्घले महत्त्वपूर्ण कार्य गरेको बताए । अभिनन्दित व्यक्तित्व प्रा.डा. सुरेन्द्र केसीले बहुदलीय व्यवस्था भनेको हाम्रोलाई नभइ राम्रोलाई ठाउँ दिने व्यवस्था भए पनि हामीकहाँ भने ठीक उल्टो प्रवृत्ति देखिएकोमा असन्तुष्टि व्यक्त गर्दै यस्तो प्रवृत्तिको विरुद्ध सबै जाग्नुपर्ने अवस्था आएको धारणा राखेका थिए । सङ्घका पूर्व सभापति विश्वविमोहन श्रेष्ठले अत्यन्त कठिन समयमा स्थापना भएको सङ्घको इतिहास सबैलाई थाहा भएको बताउँदै अब सङ्घ महासङ्घको संरचनामा जानुपर्ने आवश्यकतामा जोड दिए । सम्मानित स्रष्टा प्रमोद प्रधानले पत्रकार सङ्घले कवितायात्रा, आत्मवाचन कार्यक्रम, अभिनन्दन र सम्मान लगायतका थुप्रै सिर्जनात्मक कार्यहरू गरेको बताउँदै अब विभिन्न विधाका विभिन्न विषयमा बहस र विमर्श कार्यक्रम गर्नुपर्ने चर्चा गरे ।व्यथित काव्य पुरस्कारबाट पुरस्कृत कवि रमेश श्रेष्ठले पुरस्कारबाट आफूले लेखनका लागि थप ऊर्जा पाएको उल्लेख गरे । कार्यक्रममा अभिनन्दित वरिष्ठ सर्जक प्रदीप बमजनले गीत गाएका थिए ।

सर्जक श्रीबाबु कार्कीले सञ्चालन गरेको सो कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष नगेन्द्ररज शर्मा, रमा शर्मालगायतले आ–आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा तीन दर्जन साहित्यकारहरुलाई सङ्घको स्वर्ण महोत्सव मायाको चिनो प्रदान गरिएको थियो । साथै स्वर्ण महोत्सवको केक पनि काटिएको थियो ।