जीवनको यथार्थपरक विम्व लिएर आए गीतकार पथिक  


वरिष्ठ गीतकार डा. मुकुन्द पथिकको शब्द र वरिष्ठ सङ्गीतकार जुगल डंगोलको एकल सङ्गीतमा रहेको गीतिसङ्ग्रह ‘प्रतिविम्व’ सार्वजनिक भएको छ । केहीदिन अघि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अमेरिकाले भर्चुअल कार्यक्रममार्फत सो एल्बम सार्वजनिक गरेको हो l

एल्बममा शुभकामना शुभकामना जन्म दिनको शुभकामना, छोरो पायो बुहारीलाई छोरी पायो ज्वाईंलाई, बिदेशमा पढ्न गयो नि छोरो मन हुन्छ भुटभुटी, प्रेमको प्रस्ताव तिमीले राख्यौ प्रफुल्ल भएँ म, कोही मर्दा कसैको त भाग्य खुल्दो रै’छ र नेपालमा जन्मेकी हुँ जीना मेरो नाउँ गरि ६ वटा गीत रहेका छन् l जसमा मदनकृष्ण श्रेष्ठ, सङ्गीता प्रधान राना, सुगम पोखरेल, हेमन्त कान्छा रसाईली, निशान भट्टराई र प्रिजा मिश्रले स्वर दिएका छन् । पुतलीसडक स्थित आर्टोम्युज स्टुडियोमा रेकर्ड भएका यी सबै गीतको सङ्गीत संयोजन पनि सङ्गीतकार जुगल डंगोलले नै गरेका हुन् l

   कार्यक्रममा एल्बमको २ नम्बरमा रहेको गीत  ‘छोरो पायो बुहारीलाई छोरी पायो ज्वाईंलाई’ को भिडिओ समेत सार्वजनिक गरिएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष गोवर्धन पूजाले संस्था मार्फत डा. पथिकको गीतिसङ्ग्रह सार्वजनिक गर्न पाएकोमा निकै खुशी लागेको बताए भने डा. चूडामणि बन्धु, प्रा.डा. जयराज आचार्य, कवि मञ्जुल लगायतका अतिथिहरुले समेत एल्बमबारे आ-आफ्ना धारणा राखेका थिए l कार्यक्रममा विशिष्ट कलाकार मदनकृष्ण श्रेष्ठले एल्बममा अहिलेको सामाजिक बिकृति र घर घरको कथा समेटिएको धारणा राख्दै यस सङ्ग्रहका लागि गीत गाउन पाउँदा खुशी लागेको बताए । सङ्गीतकार डंगोलले गीतमा नेपाली समाज र परिवारभित्र खड्कँदै गएका यथार्थ कथाहरु समावेश भएको धारणा राख्दै एल्बमका गीतहरु समाज परिवर्तनका लागि सूचक बन्न सक्ने विश्वास व्यक्त गरे ।  यसैगरि गीतका रचनाकार डा. पथिकले आफू जन्मे, हुर्केको देश, समाज र परिवेशभित्रका भोगाई र अनुभूतिहरुका साथै वर्तमान मानवजीवनको वास्तविकतालाई गीत मार्फत प्रतिविम्वित गर्ने प्रयास गरेको बताएका छन् l उनले आफ्नो गीतिसङ्ग्रह ‘प्रतिविम्व’ लाई ‘जीवनको यथार्थपरक विम्व’ को रुपमा परिभाषित गरेका छन् l