गीतकार योञ्जनले आमाको सम्झनामा ल्याए गीति एल्बम ‘आमा मेरी आमा’

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध समाजसेवी, कवि तथा गीतकार दिलिप योञ्जन तामाङको एकल रचनामा रहेको गीति एल्बम ‘आमा मेरी आमा’ को लोकार्पण भएको छ l गीतकार सङ्घको आयोजनामा सङ्घकै सभा हलमा आज आयोजित एक समारोहमा सो एल्बम सार्वजनिक गरिएको हो l सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाको सभापतित्व एवं सङ्घका संस्थापक अध्यक्ष विशिष्ट गीतकार डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहमा सभा अध्यक्ष, प्रमुख अतिथि, सङ्घका निवर्तमान अध्यक्ष शुभ मुकारुङ, विशिष्ट गीतकार विश्वबल्लभ, डा. रेणु सोलु, गीतकार योञ्जन र सम्पूर्ण आमन्त्रितहरुबाट सामूहिक रुपमा सो गीति एल्बमको लोकार्पण गरिएको थियो l केही समय अघि मातृ वियोगमा परेका गीतकार योञ्जनले आमाको सम्झनामा सो एल्बम प्रकाशन गरेको थाहा भएको छ l

गीति एल्बम ‘आमा मेरी आमा’ मा शीर्ष गीत ‘आमा मेरी आमा’ लगायत ‘खाली हात आयौं हामी’, ‘उठ्नु पर्छ जुट्नु पर्छ’, ‘डम्फु र टुङ्ना बजाउँदै’ र ‘युगौं युग सँगसँगै बाँचौंला’ गरी ५ वटा गीत रहेका छन् भने २ वटा गीत मेल/फिमेल भर्सनमा भएकोले गीत प्रस्तुति संख्या ७ रहेको छ l विविध भावका गीत सङ्ग्रहित यस एल्बमका ३ वटा गीतमा लोकप्रिय सङ्गीतकार राजेश थापाको र २ वटामा डी. बी. लामाको सङ्गीत रहेको छ भने सुरेश लामा, प्रवीण बेडवाल, श्रेयशी चेम्जोङ राई, शुभ तामाङ, सुमना लो र अञ्जु लामाले स्वर दिएका छन् l एल्बममा राजु कार्की, प्रबान वाङ लामा र जोएलाल लामाको सङ्गीत संयोजन रहेको छ l एल्बमको बजार व्यवस्थापन भकारी म्युजिक डेभलपमेन्ट कम्पनीले गर्ने छ l

समारोहमा गीतकार शितल कादम्बिनीले आमन्त्रितहरुलाई स्वागत गरेकी थिईन् भने डा. रेणु सोलुले एल्बमको समीक्षा गरेकी थिईन् l समारोहमा वक्ताहरुले गीत, कविता, मुक्तक लगायत साहित्यका विविध विधामा निरन्तर कलम चलाउँदै आएका समाजसेवी गीतकार योञ्जनको गीति एल्बमको बारेमा चर्चा गर्दै उनको सामाजिक कार्यहरुको समेत खुलेर प्रशंसा गरेका थिए l लामो समयदेखि अमेरिका बस्दै आएका गीतकार योञ्जनले नेपालमा घट्ने गरेका प्राकृतिक विपत्तिको समयमा आर्थिक सहयोग समेत गर्दै आएका छन् l लामो समय अघिदेखि नर्सिङ छात्रवृत्ति लगायत स्कूल र कलेजका गरी करिव ५ दर्जन विद्यार्थीहरुलाई उनले व्यक्तिगत रुपमै पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएका छन् l विदेशमा बसे पनि सधैं नेपाल र नेपालीको भलाईका लागि चिन्तन मात्र नगरी आफ्नो कमाईको ठूलो हिस्सा आपत-बिपतमा परेका र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुका लागि खर्च गरिरहने साहित्यकार दिलिप योञ्जन तामाङलाई एक प्रेरक र उदाहराणीय व्यक्तिको रुपमा चिन्ने गरिन्छ l