किस्ना आचार्य रोशनीको ‘तिम्रो याद’ सार्वजनिक


नेपाली साङ्गीतिक र सञ्चार क्षेत्रमा सुनिरहेकै नाम हो किस्ना आचार्य रोशनी l पत्रकारिता, साहित्य र गीतसङ्गीतमा लामो समयदेखि सक्रिय रोशनीको भर्खरै मात्र नयाँ आधुनिक गीत ‘तिम्रो याद’ को भिडिओ ओएसआर डिजिटलबाट सार्वजनिक भएको छ । मनोजराज सिवाकोटीको स्वर, ज्योति प्रकाशको सङ्गीत र रोशनीको रचना रहेको उक्त गीतको भिडिओ मुकेश हुमागाइले खिचेका हुन् भने दिपेन्द्र प्रकाश केसीको निर्देशन र प्रविन भट्टको सम्पादनमा तयार भएको छ ।

म्युजिक भिडिओमा इस्टु कार्की र धिरेन्द्र शाही ठकुरीको उत्कृष्ट अभिनय देख्न सकिन्छ । मोफसलमा रहँदै साङ्गीतिक तथा साहित्यिक सिर्जना यात्रामा रहेकी रोशनीका स्कुले विद्यार्थी जीवनमै ‘सङ्घर्ष’ शीर्षकको गजलसङ्ग्रह, ‘च्यातिएको मन’ उपन्यास र केही दोहोरी गीत प्रकाशित भइसकेका थिए । त्यसैको निरन्तरतास्वरूप उनका दर्जनौं लोक तथा दोहोरी गीत, मौलिक सालैजो गीत, तीज गीत, दशैं गीत, झ्याउरे गीत आदि प्रकाशित भएका छन् ।

गीत/सङ्गीत र साहित्य सिर्जनामा अब्बल रोशनीका केही गीतमा उनकै स्वर र अभिनय पनि सुन्न/देख्न सकिन्छ । काठमाडौं आएपछि गीत सङ्गीतका अलावा पत्रकारितालाई पनि आफ्नो कर्म बनाएकी उनले विशेष कला मनोरञ्जन सम्बन्धी लेखनलाई अघि बढाएको पाइन्छ । उनी अनलाइन, छापा, युट्युब मार्फत् कला र कलाकारका कुरा प्रकाशित गर्दै पत्रकारितामा सक्रिय रहेकी छिन् । उनका सिर्जनामा रहेका थुप्रै लोकदोहोरी गीतका सिर्जनाले साङ्गीतिक बजारमा राम्रो चर्चा बटुलेका छ्न् । उनले गीत सङ्गीत र पत्रकारिता क्षेत्रमा गरेको उल्लेखनीय कामको उच्च मूल्याङ्कन गर्दै विभिन्न अवार्ड र सम्मान आयोजक संस्थाले सम्मानित पनि गरेका छन् । जसमा सुन्दरादेवी सन्देश म्युजिक अवार्ड सर्वोत्कृष्ट शव्द रचना २०७४, निम अवार्ड युवा पत्रकारिता सम्मान २०७५, उत्कृष्ट मौलिक सिर्जना सम्मान नाट्यश्वर म्युजिक अवार्ड, एपिक नेपाल म्युजिक अवार्ड २०७५ कला पत्रकारिता सम्मान, नेशनल पावर म्युजिक अवार्ड सर्वोत्कृष्ट शब्द रचना २०७६, म्युजिक खबर म्युजिक अवार्ड सर्वोत्कृष्ट शब्दरचना २०७७, पावर इन्टरनेशनल फिल्म फेस्टिवल रङ्ग पत्रकारिता सम्मान २०७८, योङमाइन्डस् म्युजिक अवार्ड २०७८ रङ्ग पत्रकारिता सम्मान लगायत छ्न् ।