शिशिर योगीको कालजयी गीत ‘सारङ्गी त रेटे पनि’ अब भिडिओमा

-तुलसी गिरी ‘भावुक’

मेलोडी सुल्तानको उपनामले विख्यात वरिष्ठ गायक/सङ्गीतकार शिशिर योगीको स्वरमा रहेको कालजयी गीत ‘सारङ्गी त रेटे पनि’ को भिडिओ सार्वजनिक भएको छ l गायक योगीले दुईदिन अघि आफ्नै अफिसियल युट्युब च्यानल Shishir Yogi बाट सो भिडिओ डिजिटल बजारमा ल्याएका हुन् l राष्ट्रकवि माधव प्रसाद घिमिरेले रचना गरेको यस गीतमा शक्तिबल्लभको सङ्गीत तथा शिला बहादुर मोक्तानको सङ्गीत संयोजन रहेको छ भने गीतको मिक्सिङ प्रदिप श्रेष्ठले गरेका हुन् l

प्रसिद्ध सिनेम्याटोग्राफर/सम्पादक वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, सिनेम्याटोग्राफी, सम्पादन र ग्राफिक्समा तयार भएको यस म्युजिक भिडिओमा लोकेश भाटको सह सम्पादन रहेको छ l वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्मित यस भिडिओमा प्रमुख कलाकारको रुपमा गायक योगीले स्वयम् अभिनय गरेका छन् l अडियो भर्सनमा सबै नेपाली श्रोताको मन मस्तिष्कमा बस्न सफल यो गीतलाई समयको माग अनुसार भिडिओमा ल्याईएको कुरा गायक योगीले बताएका छन् l प्रतीकात्मक भाव भएको यस गीतमा असल सोच, विचार र चिन्तन भएका मान्छे जस्तोसुकै विषम परिस्थितिमा पनि सकारात्मक हुन्छन्, रेटिए पनि मीठो धुन बोलिरहने सारङ्गी झैं भन्ने सन्देश दिएको छ l