नातिकाजीको एकल रचना र जुगल डंगोलको एकल सङ्गीतमा ‘ह्याउँ सिन्हः’ सार्वजनिक

-तुलसी गिरी ‘भावुक’

गीतकार नातिकाजी महर्जनको शव्दरचना एवं जुगल डंगोलको सङ्गीत तथा सङ्गीत संयोजनमा राजेन्द्र डंगोल र निशा देसारको स्वरमा रहेको नेपाल भाषाको गीति एल्बम ‘ह्याउँ सिन्हः’  सार्वजनिक भएको छ l गत शनिबार जमलस्थित सांस्कृतिक संस्थानको सभाहलमा आयोजित एक समारोहमा सो एल्बमको लोकार्पण गरिएको हो l समारोहका प्रमुख अतिथि विशिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ, डा. पञ्चनारायण महर्जन, विशिष्ट वाद्यवादक न्हुच्छे बहादुर डंगोल, एल्बमसँग सम्बन्धित सर्जक, कलाकार लगायतले संयुक्त रुपमा एल्बमको लोकार्पण गरेका थिए l

लोकार्पित गीति एल्बम ‘ह्याउँ सिन्हः’ मा ‘चकना ए चकना’, ‘म्हुतुसी लिप्स्टिक बुलाः’, ‘बांला आपालं तिनातःगु’ र ‘अय्लाः छ धात्थें’ बोलका ४ वटा गीत रहेका छन् l ४ मध्ये एउटा गीतमा भने शिव शाहीको सङ्गीत संयोजन रहेको छ l समारोहमा ‘चकना ए चकना’ गीतको भिडिओ समेत प्रदर्शन गरिएको थियो l रोहिया महर्जनको निर्देशन तथा कोरियोग्राफी, राजेन्द्र डंगोलको सिनेम्याटोग्राफी र ईन्द्र मानन्धरको सम्पादन रहेको सो म्युजिक भिडिओमा सृष्टि महर्जन र दिनकर महर्जनको अभिनय रहेको छ l

समारोहका प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले ४ वटै गीत फरक स्वाद र वर्तमान पुस्ताको चाहना अनुसारको ‘फ्युजन’ मेलोडीमा रहेको धारणा राखेका थिए l उनले एल्बमसँग सम्बन्धित सर्जक/कलाकारको समेत प्रशंसा गरे l यसैगरि समारोहका विशिष्ट अतिथि न्हुच्छे बहादुर डंगोलले गीतकार नातिकाजीको पहिलो गीत आफूले सङ्गीत गर्ने अवसर पाएको स्मरण गर्दै वाद्यवादन संयोजनको खुलेर प्रशंसा गरेका थिए l नेपाल भाषा र नेपाली भाषा दुबैमा न्याय गर्ने सङ्गीतकारका रुपमा उनले जुगल डंगोलको पनि प्रशंसा गरे l

कार्यक्रममा आफ्ना भनाईहरु राख्दै ज्यापू महागुथि नेपा: का अध्यक्ष एवं लोककवि राजभाइ नकर्मीले बिर्सदै गएका कतिपय ठेट शब्दको प्रयोग गरेर गीतमा मौलिकता झल्काएको भन्दै गीतकारको प्रशंसा गरेका थिए l समारोहमा एल्बमका गायक राजेन्द्र डंगोलले २ वटा गीतको लाइभ प्रस्तुति दिएका थिए भने उनको एउटा पुस्तकको समेत लोकार्पण गरिएको थियो l