साहित्यकार अनल गौतमका दुई पुस्तक एकैसाथ सार्वजनिक


युवा साहित्यकार अनल गौतमले एकैपटक दुईवटा पुस्तक सार्वजनिक गरेका छन् । काठमाडौंमा आयोजित एक साहित्यिक कार्यक्रमका बीच साहित्यकार गौतमको उपन्यास ‘बार्दली’ तथा कथा सङ्ग्रह ‘दाहिने हाते सिक्का र साईकल’ एकै साथ लोकार्पण गरिएको हो । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, कवि तथा साहित्यकार डा.रामप्रसाद ज्ञवाली, सञ्चारकर्मी महेश राणा लगायतका व्यक्तित्वले ती पुस्तकहरु लोकार्पण गरेका हुन् ।

लोकार्पण समारोहमा लेखक गौतमलाई वधाई दिँदै कलाकार मदनकृष्ण श्रेष्ठले गौतमका उपन्यास तथा कथा सङ्ग्रह निकै नै रोचक र समयसामयिक लागेको बताएका छन् । कथासङ्ग्रह  ‘दाहिने हाते सिक्का र साईकल’ को समीक्षा गर्दै सञ्चारकर्मी महेश राणाले सङ्ग्रहमा समावेश ११ वटा कथामध्ये कुनै न कुनै एक कथाले पाठकलाई अवश्य छुने धारणा व्यक्त गरे ।

समालोचक डा.रामप्रसाद ज्ञवालीले ‘बार्दली’ उपन्यासको समालोचना गर्दै लेखक गौतमको सरल शैलीमा भावना व्यक्त गर्ने शैलीको प्रशंसा गरे । उपन्यासले प्रेमको नयाँ परिभाषा व्यक्त गरेको भन्दै डा. ज्ञवालीले उपन्यासले नयाँ पुस्तालाई केही सन्देशसमेत दिने आशय व्यक्त गरे । कार्यक्रममा बोल्दै लेखक गौतमले पुस्तक लेख्न भन्दा सार्वजनिक गर्न कठिन भएको पुरानो अनुभव स्मरण गर्दै यसपटक ऐरावती प्रकाशन प्रालिसंगको सहकार्यमा दुईवटा पुस्तक पनि सहजै सार्वजनिक गर्न सकिएको बताए ।

ऐरावती प्रकाशन प्रालिका प्रमुख रामदेव पाण्डेको अध्यक्षतामा आयोजित सो समारोहमा पाण्डेले साहित्यका गौतमको लेखन शैलीको प्रशंसा गर्दै विषम परिस्थितिमा छोटो समयकै अन्तरालमा दुई पुस्तक प्रकाशित गरेको बताए । मूलतः आख्यान विधामा कलम चलाउन रुचाउने गौतमलाई यसमा पनि कथा तथा उपन्यासमा विशेष रुची छ ।

२०३८ साल असार १७ गते हेटौंडा-५, मकवानपुरमा जन्मिएका साहित्यकार गौतमले २०६४ सालमा ‘शुभ प्रभात’ शीर्षकको हाईकुसङ्ग्रह प्रकाशन गर्दै औपचारिक साहित्यिक यात्रा प्रारम्भ गरेका हुन् । त्यसपछि साहित्यकार गौतमले २०६६ सालमा कवितासङ्ग्रह ‘चिनारी’ सार्वजनिक गरेका थिए । गौतमलाई साहित्यकारको रुपमा स्थापित गर्ने काम उनले २०७० मा प्रकाशित गरेको कथोपन्यास ‘घाट घाटका कथा’ ले गर्यो । यो कथोपन्यासमार्फत उनी पाठकको मन मनमा बस्न सफल भएका थिए । २०७० सालमै गौतमले गीतिसङ्ग्रह  ‘सरसी’ पनि प्रकाशित गरेका थिए ।

कथासङ्ग्रह दाहिने हाते सिक्का र साईकलमा के छ ?

कथासङ्ग्रह ‘दाहिने हाते सिक्का र साइकल’ मा कूल ११ वटा कथाहरु समावेश गरिएको छ । यो कथासङ्ग्रहमा फरक परिदृष्यका कथाहरु समावेश गरिएका छन् । यो कथासङ्ग्रहमा साहित्यकार गौतमले बाल्यवस्थाका कथादेखि लिएर यौवन अवस्थाका मानवीय संवेदनामा आधारित कथाहरु समावेश छन् । विगत अनि वर्तमानका हाम्रै वरपरका भौगोलिक क्षेत्रभित्र बाल तथा युवा मनोविज्ञानलाई चित्रण गर्दै सामाजिक वस्तुस्थितिलाई समेत जोडेर लेखिएका कथाहरु जिवन्त प्रतित हुन्छन् । यो पुस्तकका केही कथाहरु अलि काल्पनिक झैँ लागेता पनि तिनको वर्णनले यथार्थता झल्काउने कोसिस भने गरेकै छन् ।

बार्दलीमा युवा वर्गले भोगेका अनुभवहरु

लेखक गौतमको यसअघिको उपन्यास ‘लभ एट २५’ को दोश्रो भागको रुपमा लेखिएको उपन्यास हो- ‘बार्दली’ । यो एकजना सङ्घर्षशील युवाको कथा हो । पहाडबाट काठमाडौं झरेको एउटा विद्यार्थी, युवाको मेहेनत, उसको जीवनमा आउने विविध उतार-चढाव तथा त्रिकोणात्मक प्रेम सम्बन्धमा आधारित यो उपन्यासमा हालका युवा वर्गले भोगेका अनेकौं अनुभवहरु समेटिएको छ । ‘बार्दली’ उपन्यासमार्फत उपन्यासकार गौतमले थोरै रोमान्टिक, थोरै पीडाबोध अनि यथार्थपरक जीवन भोगाई झैँ लाग्ने शैलीमा पाठकलाई आकर्षित गर्न खोजेको देखिएको छ ।