‘कविताको लय र जीवनका रङ्गहरू’ कार्यक्रम सम्पन्न


अनेसास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा जापानको राजधानी टोकियोमा एक फरक र विशेष कार्यक्रम सम्पन्न भएको छ । जापानका लागि नेपाली राजदुत दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्य तथा एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रेरणादायी कथावाचक तथा वक्ता सुधन ज्ञवाली, कविहरू सविना रेग्मी, आनन्द अधिकारी र अज्ञात मान्छे प्रमुख आकर्षणका रूपमा रहनुभएको थियो ।

जापानमा बढिरहेको नेपाली समुदाय र यसमा देखिएका विभिन्न किसिमका सामाजिक तथा मानसिक समस्याहरूलाई मध्यनजर गरेर वक्ता सुधन ज्ञवालीले विभिन्न उत्प्रेरणाका विचारहरू प्रस्तुत गर्नुभएको थियो । टोकियोमा रहेर नेपाली कवितामा सक्रिय बनिरहनुभएका तीन कविहरूका कविताले कार्यक्रममा प्राण भरेका थिए । साथै कार्यक्रमलाई थप सुन्दर र आकर्षक बनाउनका लागि वाद्यवादकहरू खड्ग पुन मगरको बाँसुरी र धन पुनको सारङ्गीको धुन कविताका लयहरू सङ्गै गुञ्जिएका थिए । कार्यक्रमलाई सफल बनाउन जापानमा क्रियाशील विभिन्न संघ संस्थाहरूले पनि सहयोगी भूमिका निर्वाह गरेका थिए ।

गुल्मेली समाज जापान कान्तो क्षेत्रीय समिति, बागलुङ समाज जापान, पर्वत समाज जापान, चितवन समाज जापान, पाल्पा समाज जापान तथा सुप्रिम म्यानेजमेन्टले सह आयोजकको रूपमा कार्यक्रमलाई सहयोग गरेका थिए । त्यसैगरी सुमेघ टुर एन्ड ट्राभल्सले यात्रा सहयोगीको रूपमा सहयोग गरेको थियो । जापान ग्लास इन्डस्ट्रीको सभाहलमा सम्पन्न सो कार्यक्रममा जापानका बिभिन्न स्थानबाट दुई सय जना भन्दा बढिको सहभागिता रहेको थियो । अनेसास जापानका सचिव अनिल कुमार निर्दोषको सहजीकरणमा सम्पन्न सो कार्यक्रमको संयोजन अनेसास जापानका अध्यक्ष रविन शर्माले गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा आयोजक संस्थाद्वय एनआरएनए जापान र अनेसास जापानको तर्फबाट कार्यक्रमका प्रमुख वक्ता, सुधन ज्ञवाली सहित कविहरू आनन्द अधिकारी, सविना रेग्मी , अज्ञात मान्छे तथा वाद्यवादकहरू खड्ग पुन र धन पुनलाई सम्मान पत्र तथा मायाको चिनो अर्पण गरिएको थियो ।